Logo

ओली समावेशी समानुपातिक प्रतिनिधित्वको विरुद्धमा हुनुहुन्थ्यो, दलित समुदायलाई बहिष्करण गर्नुभयोः कांग्रेस नेता रसाईली



काठमाडौं, १ साउन । नेपाली कांग्रेसका नेता प्रकाश रसाईली ‘स्नेही’ ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा दलित र मुस्लिम समुदायलाई बहिष्करण गरिएको भन्दै आपत्ति जनाएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कका नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले स्थिरताका नाममा कांग्रेस–एमाले गठबन्धन सरकारले दलित र मुस्लिम समुदायको हक अधिकार कुण्ठित गरिएको बताएका हुन् ।

नेता रसाईँलीले प्रधानमन्त्री ओली संविधान बन्ने बेलादेखि नै समावेशी समानुपातिक प्रतिनिधित्वको विरोधी रहेको टिप्पणी गरे । कांग्रेस–माओवादीको जोडबलले संविधानमा समानुपातिक समावेशी प्रतिनिधित्व केही हदसम्म सुरक्षित भएपनि अहिलेको सरकारले यसलाई लत्याएको उनको आरोप छ । उनले आफ्नो पार्टी कांग्रेस पनि यो विषयमा चुकेको टिप्पणी गरे ।

‘केपी शर्मा ओली संविधान बन्ने बेलामा नै समावेशी समानुपातिक प्रतिनिधित्वको बारेका उहाँले त्यसको विरुद्धमा आफ्नो अडान राखेको र त्यो अडानमा कांग्रेस र माओवादीले समन्वय गरेको कारणले संविधानमा केही हक अधिकार सुरक्षित भएको अवस्था थियो ।’ उनले भने, ‘पछिल्लो पटक जसरी स्थिरताका नाममा नेताहरुको पद लोलुपताको चरित्र होईन कि पद लिप्साको चरित्र होईन कि स्थिरताका नाममा त्यो समूदायको हक अधिकार कुण्ठित गर्ने मनशायले संविधान संशोधनको नाटक रचिएको छ । त्यसको सुरुवाती सिन देखिएको छ । त्यसमा केपी शर्मा ओली र हाम्रो पार्टीका नेताहरु चुकेका छन् ।’

कांग्रेस–एमालेले पछिल्लो पटक सरकार गठन गर्दा २०६२/०६३ सालको जनआन्दोलन र सशस्त्र विद्रोहको भावना विपरीत समावेशी, समानुपातिक प्रतिनिधित्व, परिवर्तन र क्रान्तिलाई अस्वीकार गरेको उनको टिप्पणी छ । कांग्रेस–एमाले गठबन्धन सरकारले दलित र मुस्लिम समुदायलाई बहिष्करण गरेको उनको आरोप छ । File Photo/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्