Logo

एमालेका ‘१० भाइ’ फेरि चर्चाको शिखरमा, ओलीको विरुद्धमा बोल्नेलाई केन्द्रदेखि वडासम्मै विभेद



काठमाडौं, २ साउन । नेकपा (एमाले) का नेता डा. भीम रावलले सुरुवाती दिनमा माधव नेपालको पक्षमा उभिएर विभाजनको क्रममा एमालेमै रहेका नेताहरुमाथि पूर्वाग्रही व्यवहार गरिएको बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उक्त विभेद केन्द्रदेखि वडासम्म नै कायम रहेको बताएका हुन् । उनले देशलाई अगाडि बढाउनका लागि सबै कुराहरु विर्सिएरपार्टीलाई एकतावद्ध बनाउनेतिर लाग्दा आफूहरुमाथि पूर्वाग्रही व्यवहार गरिएको बताए । आफूले पार्टीको १०औं महाधिवेशनमा प्रतिस्पर्धा गरेको विषयलाई समेत इगोका रुपमा हेरिएको उनको भनाइ छ ।

‘सबै कुराहरु विर्सिएर हामीले पार्टीलाई एकतावद्ध बनाउनेतिर लाग्यौं । तर, पछि गएर त्यसमा पूर्वाग्रह राखेर व्यवहार गरियो । त्यसपछिका घटनाक्रममा अर्कै दृष्टिकोणबाट हेर्नु, पूर्वाग्रही बन्ने, पक्षपात गर्ने कुरा मैले यत्रतत्र सर्वत्र, हामीमाथि मात्रै होईन, जो त्यतिबेला हाम्रो समर्थक साथीहरु थिए, वडासम्ममा अन्याय गरिएको छ । पक्षपात गरिएको छ,’– उनले भने ।

यो पनि पढ्नुहोस्ः एमालेका १० भाइमाथि फर्किएन ओलीको मन, मन्त्रिपरिषद्मा ‘नो इन्ट्री’

उनले प्रतिनिधि सभा विघटन संविधान विपरीत भएपछि आफूहरु त्यसको विरुद्धमा उभिएको बताए । लोकतन्त्रमा विश्वास गर्ने, मार्क्सवादमा विश्वास गर्ने र अहिलेको खुल्ला समाजमा प्रतिस्पर्धाबाट गएर प्रतिक्रियावादी शक्तिहरुलाई कमजोर बनाउँछौं भन्ने एमालेजस्तो पार्टीको नेतृत्वले आफ्नै पंत्तिभित्र यसो गर्नु अनुचित रहेको उनले बताए ।

त्यतिबेलाको विवादको नेतृत्व गर्ने प्रचण्डलाई प्रधानमन्त्री बनाउने, कांग्रेस, महन्त ठाकुर, उपेन्द्र यादवसँग मिल्ने ओलीले आफ्नै पार्टी पंत्तिका नेताहरुलाई भने फरक व्यवहार गरेको उनले बताए ।

नेता रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञावाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण बिष्ट, घनश्याम भुसाल, भीम आचार्य, अमृत बोहोरा र रघुजी पन्त ‘१० भाइ’ समूहमा पर्छन् । उनीहरुमध्ये भट्टराई, विष्ट, आचार्य र पन्त सांसद छन् । नेता पन्तबाहेक अन्य तीन नेताहरु प्रत्यक्ष निर्वाचित हुन् । तीमध्ये नेता भुसालले पार्टी परित्याग गरिसकेका छन् ।

निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारदेखि अहिले ओली प्रधानमन्त्री बन्दासम्म सरकारमा जान चासो देखाएपनि उनीहरुले अवसर पाएनन् । ओलीको विरोध गरेकै कारण उनीहरु अवसरबाट बञ्चित हुनुपरेको चर्चा सुरु भएको छ ।



प्रतिक्रिया दिनुहोस्