Logo

सत्ता साझेदार दललाई रिझाउन नसक्दा मधेशका मुख्यमन्त्री सिंहको कुर्सी संकटमा, समर्थन फिर्ता लिनेबारे निर्णय गर्न कांग्रेसको बैठक बस्दै



काठमाडौं,३ साउन । मुख्यमन्त्री शतिसकुमार सिंहले विश्वासको मत लिनुअघि गरेको वाचालाई लत्याएको भन्दै सत्ता साझेदार दल नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । कांग्रेसले समर्थन फिर्ता लिनेबारे निर्णय गर्न आज संसदीय दलको बैठक डाकेको छ ।

यसअघिको सहमति अनुसार मुख्यमन्त्री सतिश कुमार सिंहले अर्थ मन्त्रालय नदिएपछि कांग्रेसले समर्थन फिर्ता लिने चेतावनी दिएको हो ।

स्रोतका अनुसार कांग्रेसले अर्थसहित चार मन्त्रालय मागेको छ । तर मुख्यमन्त्री सतिश कुमार सिंहले अर्थ आफैं राख्ने अडान लिएका छन् । पटक पटक छलफल भएपनि मुख्यमन्त्रीले अर्थ दिन अस्वीकार गरेपछि कांग्रेस वर्तमान सरकारको विकल्प खोजेको छ ।

कांग्रेसले जनार्दनसिंह क्षेत्री, सुनिल यादव, शेषनारायण यादव र कौशलकिशोर रायलाई सरकारमा पठाउने निर्णय गरिसको छ । स्रोतका अनुसार असार २३ मै मन्त्रीहरु शपथग्रहणका लागि तयार भइसकेका थिए । तर मुख्यमन्त्रीले अर्थ मन्त्रालय नदिने भनेपछि कांग्रेस पछि हटेको थियो ।

मधेशका मुख्यमन्त्री सिंह जनमत पार्टीका हुन् । कांग्रेस समर्थन फिर्ता लिएसंगै उनी नेतृत्वको सरकार अल्पमतमा पर्नेछन् ।

१ सय ७ सदस्यीय मधेस प्रदेशमा २५ सिटसहित एमाले पहिलो दल छ भने कांग्रेसको २२ सिट छ । मधेसमा जनतमतका १३ सांसद छन् । सरकार बनाउन ५४ सांसद आवश्यक पर्छ ।



प्रतिक्रिया दिनुहोस्