Logo

पार्टी नेतृत्वबाट गम्भीर धोका खाएका चन्द्र भण्डारीको पक्षमा समर्थकहरुको सहानुभूतिको बाढी



काठमाडौं, ३ असार । नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहकार्यमा केपी शर्मा ओली प्रधानमन्त्री बनेसँगै दुई दलभित्र क–कसलाई मन्त्री बनाउने भन्ने कुरामा रस्साकस्सी नै चल्यो । एमाले–कांग्रेसभित्र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासनका क्षेत्रमा केही सुधारका काम गरेकाले यो सरकारले जनताको मन जित्न क्लिन छवि भएकाहरुलाई मन्त्री बनाउनुपर्ने बहस सुरु भएको थियो ।

मन्त्री छनोटलाई लिएर एमालेमा पनि व्यापक छलफल भएको थियो । सबै भूगोल, क्षेत्र, लिङ्ग र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट हुनुपर्ने एमालेका नेताहरुको मत थियो । समानुपातिक समावेशी सिद्धान्तको खिलाफमा अन्ततः प्रधानमन्त्री ओलीले आफूले चाहेकाहरुलाई मन्त्री बनाए । तत्कालीन नेकपामा माधव नेपाल र प्रचण्डको पक्षमा उभिएका, नेकपा विभाजनपछि ओलीको कडा आलोचक बनेका र माधव नेपालले पार्टी विभाजन गर्दा एमालेमै बसेकाहरुले चाहना राखेपनि मन्त्री बन्न पाएनन् ।

त्यस्तै, गुटैगुटको ऐजेरुले जेलिएको कांग्रेसमा पनि मन्त्री छान्न तछाड्मछाड नै भयो । एमालेमा ओलीले आफ्ना मान्छे हालेझैं कांग्रेसका एउटाको निर्णय लाग्न सक्ने अवस्था थिएन । कांग्रेसबाट मन्त्री बन्नेमा धेरैको नाम आए, काटिए । एमालेले प्रधानमन्त्रीसहित ९ र कांग्रेसले १० वटा मन्त्रालय भागबण्डा गरेकोमा थियो । नेपाली कांग्रेसले भागमा पाएको मन्त्रालयहरु पुनः गुटभित्र भागबण्डा भएको थियो । सभापति देउवा–४, शेखर कोइराला –२, शशांक कोइराला–१, गगन थापा–१, प्रकाशमान सिंह–१, शीतल निवास–१ गरी मन्त्रीहरुको कोटा भागबण्डा भएको थियो ।

कांग्रेसभित्र सबैभन्दा धेरै चर्चा भएर पनि डा. चन्द्रकान्त भण्डारी मन्त्री बन्न पाएनन् । संस्थापनइत्तर समूहका नेता मानिने भण्डारी अन्ततः कुनै समूहको पनि भएनन् । प्रधानमन्त्री ओलीले पनि भण्डारीलाई आफ्नो क्याविनेटमा ल्याउन देउवालाई प्रश्ताव गरेका थिए । सभापति देउवाले पनि ओलीको प्रस्तावमा विचार गर्ने बताएका थिए । पार्टीभित्र मौलाएको गुट र उपगुटको सन्तुलन मिलाउँदै देउवाले भण्डारीलाई मन्त्री बनाउन नसकेको स्रोतको दाबी छ ।

डा. भण्डारी स्वयंले पनि यस पटक मन्त्री बन्ने इच्छा व्यक्त गरेका थिए । उनले सो कुरा शेखर–गगन समूहमा पनि र सभापति देउवालाई पनि अनुरोध गरेका थिए । मन्त्री बन्ने उनले सक्रियता देखाएपनि विभिन्न मिडियामा आएका समाचारलाई लिएर धेरैले भण्डारीलाई बधाइ पनि दिन थालिसकेका थिए । कांग्रेसभित्र मात्रै होईन, कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुमाझ पनि भण्डारी लोकप्रिय मानिन्छन् । शालिनता र बौद्धिकताका कारण भण्डारी युवा पुस्तामाझ निकै रुचाइएको नेतामध्ये पर्छन् ।

गत २०७९ फागुनमा नेता भण्डारी र उनकी आमा आगलागीमा परेका थिए । आगलागीमा परेकी भण्डारीको आमाको निधन भएको थियो । नेपालमा सम्भव नभएपछि थप उपचारका लागि भण्डारीलाई भारत लगिएको थियो । उक्त समयमा उनले साह्रा देशवासीको सहानुभूति पाएका थिए ।

अहिले मन्त्री नबन्दै गर्दा पनि भण्डारीलाई धेरैले सहानुभूति प्रधान गरिरहेका छन् । मन्त्रीको लिस्टबाट आफ्नो नाम हटाएसँगै नेता भण्डारीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘कतिपय घटनाहरु आनन्ददायी र शिक्षाप्रद हुन्छन् । धेरै दुःखी र खुसी हुनुपर्दैन । उपयुक्त समयको प्रतिक्षा ।’



प्रतिक्रिया दिनुहोस्