Logo

सुदूरका मुख्यमन्त्री सोडारीलाई कांग्रेस-एमालेको काउन्टर अट्याक, प्रदेश प्रमुखद्धारा प्रदेश सभाको विशेष अधिवेशन आह्वान



काठमाडौं,४ साउन । बजेट अध्यादेश ल्याउनका लागि प्रदेश सभाको चालु अधिवेशन अन्त्य गराएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारी नैतिक संकटमा परेका छन् । सत्ता साझेदार दल नेकपा एमाले सरकारबाट बाहिरिएपछि अल्पमतमा परेको सरकारले बजेट पास गर्न सकेको छैन् ।

बजेट पारित नभएपछि सोडारीले अध्यादेश ल्याउन चालु अधिवेशन अन्त्य गराउन प्रदेश प्रमुखलाई पत्र लेखेका थिए । सोडारीले लेखेको पत्रका आधारमा प्रदेश प्रमुख नाजिर मियाले बिहीबार राती १२ बजेबाट लागू हुनेगरि चाल अधिवेशन अन्त्य गरेका थिए ।

संसद अधिवेशन अन्त्य भएकै भोलिपल्ट शुक्रबार संसदको एक चौथाई प्रदेश सभा सदस्यहरूले हस्ताक्षरसहित विषेश अधिवेशनको माग गरेपछि प्रदेश प्रमुख मियाले साउन ८ गतेका लागि विषेश अधिवेशन आह्वान गरेका हुन्।

मसख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेपछि उनले अध्यादेशबाट बजेट ल्याउनका लागि असारको ३० गते चालु रहेको संसदको बजेट अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई पत्र पठाएका थिए। त्यतिबेला प्रदेश प्रमुख बाहिर भएकाले बिहीबार रातिबाट उनले संसदको चालु बजेट अधिवेशन अन्त्य गरेका थिए।

विशेष अिधवेशन आह्वान भईसकेपछि सोडारीलाई बजेट अध्यादेश ल्याउन बाटो बन्द भएको छ । अब उनले ८ गते प्रदेश सभामा सम्बोधन गरेर राजीनामा दिनुको विकल्प नभएको विपक्षी दलको दाबी छ । विपक्षी दल नेपाली कांग्रेस र नेकपा एमालेले तुरुन्त राजीनामा दिएर नयाँ सरकारको लागि मार्गप्रसस्त गर्न आग्रह गर्दै आएका छन् ।

सोडारी नेतृत्वको सरकारले असार १ गते ल्याएको बजेट असारमा पास हुन नसकेपछि अहिले प्रदेशभरी कर संकलनको कार्य बन्द भएको छ। यातायात, मालपोत र नापी, स्थानीय तहका लागि तोकिएका अधिकांस करहरु बन्द भएका छन्। अहिले प्रदेशमा बजेट सुन्यताको अवस्था रहेको छ।

केन्द्रमा बनेको नयाँ सत्ता समीकरण अनुसार सुदूरमा सरकारको नेतृत्व कांग्रेसले गर्ने भएको छ । कांग्रेसबाट पूर्व मुख्यमन्त्री कमलबहादुर शाहले नयाँ सरकारको नेतृत्व गर्नेछन् । दुई दलको प्रदेश सभामा प्रष्ट बहुमत छ ।



प्रतिक्रिया दिनुहोस्