Logo

सरकार लुकिछिपी गलत गर्न खोज्दैछ, मन्त्रिपरिषद्को निर्णय पनि २४ घण्टा लुकाउन थाल्योः माओवादी उपमहासचिव पुन



काठमाडौं, ४ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले सरकारले मन्त्रिपरिषद्को निर्णय २४ घण्टा लुकाउनुको पछाडि रहस्य रहेको बताएका छन् । आज (शुक्रबार) प्रतिपक्षी दलहरुको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले मन्त्रिपरिषदको निर्णय पनि २४ घण्टापछि सार्वजनिक गर्ने निर्णय गर्नुले कांग्रेस–एमालेले लुकिछिपी गलत काम गर्दैछन् भन्ने कुरा पुष्टि हुने बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले मन्त्रिरिषद् बैठकको निर्णय २४ घण्टापछिमात्रै सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

‘निर्णय हुनेबित्तिकै सार्वजनिक गरिन्थ्यो । २४ घण्टासम्म सार्वजनिक नगर्ने भनेर निर्णय नै भयो । क्याविनेट त लाइभ गर्नुपर्ने अवस्था होईन र ? केही गम्भीर राष्ट्रिय सुरक्षाका विषयबाहेक लाइभ क्याविनेट बसेर केही बिग्रिन्छ ? लाइभ गरेर ल है हामी यो विषयमा छलफल गर्दैछौं भन्नलाई केही आपत्ति हुन्छ र ? लोकतन्त्रमा जनतालाई लुकाउनुपर्ने विषय केही हुन्छ र ? निर्णय गरेका कुराहरु पनि २४ घण्टा लुकाउने भनेपछि चाहीँ कहीँ न कहीँ उहाँहरु लुकिछिपी केही काम गर्न खोज्नुभएको छ,’– उनले भने ।

एमाले–कांग्रेस जनताको एजेण्डामा अनुदार दल हुन् भन्ने कुरा विगतको अभ्यासबाट पुष्टि भइसकेको उनले बताए । नेता पुनले संविधानका कुन–कुन विषयमा संशोधनको आवश्यक रहेको भन्ने कुरामा कांग्रेस–एमाले प्रष्ट नगरको बताए । उनले संविधानका कतिपय प्रवधान कार्यान्वयन नै नभइसकेको अवस्थामा संशोधनको एजेण्डा आवश्यक नरहेको बताए ।

उनले राजतन्त्रको बेलामा यिनै दल रहेको र समानुपाति व्यवस्था नरहेको अवस्थामा १० वर्षमा १२ वटा सरकार बनेको बताए । अहिले समानुपातिक निर्वाचन प्रणालीले राजनीतिक अस्थिर भयो भन्नुमा कुनै सत्यता नरहेको उनले बताए । कांग्रेस–एमाले संविधान संशोधनको एजेण्डा लिएर उल्टो बाटोमा हिड्न खोजेको उनको भनाइ छ ।

नेता पुनले ‘साना दल समस्या भए, समानुपातिक समावेशी निर्वाचन प्रणाली समस्या भयो’ भनेर कांग्रेस–एमाले निरङ्शतातिर जान खोजेको आरोप लगाए । साना दल र मध्यम खालका दलहरु प्रभावी भए, यिनलाई कमजोर पार्नुपर्छ भन्ने कांग्रेस–एमालेको सोच रहेको उनले बताए । उनले तीन प्रतिशत थ्रेसहोल्ड राख्दा भोलिका दिनमा कांग्रेस–एमालेलाई नै संकट आउनसक्ने बताए । फोटो, भिडिओः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्