Logo

उपसभामुख रानाको राजीनामा माग्दै सदन चर्काउने सत्तापक्षको तयारी, प्रतिरक्षामा उत्रिने रास्वपाको संकेत



काठमाडौं,६ साउन। प्रतिनिधिसभाको बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

आज बस्ने बैठकमा उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई लेखेको गैरकानुनी पत्रबारे सांसदहरुले आवाज उठाउने भएका छन् । उनीहरुले उक्त पत्रलाई पदको दुरुपयोग गरी पाँच जना व्यक्तिलाई अमेरिका लैजान खोजेको भ्नदै रानाको राजीनामा माग्ने तयारी गरेका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेस र एमालेका सांसदहरुले उपसभामुखको उक्त पत्रबारे संसद बैठकमा कुरा उठाउने तयारी गरेका छन् । यसअघिनै सत्तापक्षले रानाको राजीनामालाई आफ्नो बटमलाइन बनाउने संकेत गरिसकेको छ । त्यसबारे शुक्रबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा परेको उजुरी र संसदको कार्यव्यवस्था परामर्श समितिमा उठाइएको प्रश्नले पनि सांसदहरुले उनीमाथि छानबिनको माग जोडदार रुपमा उठ्ने बुझ्न सकिन्छ ।

राज्यव्यवस्था समितिका सभापति तथा काँग्रेस सांसद रामहरि खतिवडाले सभामुखको नेतृत्वमा बसेको शुक्रबारको कार्यव्यवस्था परामर्श समिति बैठकमा यसबारे आफ्नो धारणा राखेका छन् । उनले उपसभामुखमाथि छानबिन हुनुपर्ने माग राखेका थिए ।

एमालेले औपचारिक रुपमा त्यसबारे केही बताएको छैन । तर,प्रमुख सचेतक महेश बर्तौलाले सभामुख, उपसभामुखको जिम्मेवारी र दायित्व निकै माथिल्लो तह र महत्वपूर्ण भएकाले सोहीबमोजिमको आचरण देखाउनुपर्ने बताउँदै आएका छन् ।

उपसभामुख रानाले भने आफूले ती पाँच जनालाई भीसा मिति अघि सार्नका लागि करुणा भावले पत्र लेखिदिएको स्पष्टिकरण दिएकी छन् । तर,पदीय मर्यादाको ख्यालबारे उक्त पत्रमा केही पनि उल्लेख छैन ।

यता रानाको मातृ पार्टी रास्वपाले भने सत्तापक्षले चर्को आवाजमा राजीनामा मागेमा प्रतिरक्षमका उत्रिने तयारी गरेको छ । आजनै रास्वपाले एक विज्ञप्ति निकाल्नै राना निर्दोष रहेको जिकिर गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्