Logo

कांग्रेस-एमालेलाई सांसद सापकोटाको जवाफः भ्रष्ट र डुङ्डुङ्ती गन्हाएकाहरुले माओवादीलाई बोक्न जरुरी छैन



काठमाडौं, ६ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटाले माओवादीलाई कांग्रेस–एमालेले बोक्न जरुरी नरहेको बताएका छन् । आगामी निर्वाचनमा कांग्रेस–एमालेले माओवादीसँग गठबन्धन नगर्ने शर्तमा अहिलेको गठबन्धन बनेको भनी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अभिव्यक्तिको खण्डण गर्दै उनले भ्रष्ट र डुङ्डुङ्ती गन्हाएकाहरुले माओवादीलाई बोक्न जरुरी नरहेको बताएका हुन् ।

नेता सापकोटाले माओावादी टाउकोको मूल्य तोकिँदा पनि गोलीसँग नडराएको, कुनै काण्डहरुमा नमुछिएको र कुनै नीतिगत भ्रष्टाचारमा नमुछिएको दाबी गर्दै अब पनि नडराउने बताए । उनले माओवादीलाई चुनावमा जनताले बोक्ने बताए । एमाले–कांग्रेसतर्फ लक्षित गर्दै नेता सापकोटाले भ्रष्ट र डुङ्डुङ्ती गन्हाएकाहरुले माओवादीलाई बोक्न नपर्ने बताए ।

‘प्रधानमन्त्रीको पार्टीका एक जना वरिष्ठ नेताले विदेशमा गएर माओवादीलाई आगामी चुनावमा दुवैले नलिने शर्तमा गठबन्धन गरियो भन्नुभएको रहेछ । क्या गज्जब ! भ्रष्टाचारले डुङ्डुङ्ती गन्हाएर सिनोमा परिणत हुन लागेका तपाईँहरुले हामीलाई युद्धमा टाउकोको मोल तोकेर, शंका लाग्नेवित्तिकै गोली चलाउने आदेश दिएको होईन ? गोलीसँग नडराएको माओवादी, कुनै काण्डहरुमा नमुछिएर, यसबीचमा हेर्नुभयो भने कुनै नीतिगत भ्रष्टाचारमा नमुछिइकन आएको माओवादीलाई हेप्ने तपाईँहरुले सोच्नुभएको छ भने तपाईँहरुको दिवा सपना हुनेछ । त्यही सहमति गरेको हो भने आज प्रधानमन्त्रीले यो रोस्ट्रमबाट उदुघोष गर्नुहोस् । हामीलाई जनताले बोक्नेछन् । हामीलाई तपाईँहरुजस्ता भ्रष्ट र डुङ्डुङ्ती गन्हाएकाहरुले बोक्न कुनै जरुरी छैन,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्