Logo

माओवादी नेता पुनको दाबीः प्रधानमन्त्री ओलीले संसद्मा उभिएर बोलेको कुरा भाषणमै सीमित हुन्छ



काठमाडौं, ६ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को रोस्ट्रममा उभिएर बोलेका कुरा भाषणमै सीमित हुने बताएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले बजेटले सम्बोधन नगरेको कुरामा भाषण गरेर जनतालाई झुक्याउने काम गरिरहेको बताएका हुन् ।

‘आज जतिकुरा प्रधानमन्त्रीले गर्छौं भन्नुभयो- त्यो कुरा भाषणमा मात्रै सीमित हुन्छन् । किनभन्दा त्यसलाई बजेटले समर्थन गर्नुपर्ने हुन्छ । होईन भने जनतालाई झुक्याउने काम हुन्छ । यसो नगर्दिनुस् । जिम्मेवार मान्छे, चार/चार पटक प्रधानमन्त्री बन्नुभएको मान्छे, यो कुरा नबुझेर होईन । जनतालाई भ्रममा राख्ने ढंगले भोलि आफैंले पूरा गर्न नसक्ने काम नगर्दिनुस् भन्ने मेरो अनुरोध रहेको छ,’– उनले भने ।

साथै, वर्तमान सरकारमा रहेको नेपाली कांग्रेसका महामन्त्रीद्वयले विगतमा गिरीबन्धु टी स्टेट प्रकरण जोडतोडको रुपमा उठाएको स्मरण गराउँदै उनले अब उक्त एजेण्डा नबोके प्रश्न उठ्ने बताए । ‘भ्रष्टाचारको कुरा उठ्नेवित्तिकै, प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारका विभिन्न फाइलहरु खोल्ने, छानविन गर्ने गर्दा, नक्कली भुटानी शरणार्थीदेखि गिरीबन्धु टी स्टेटसम्मका कुरा उठ्दैगर्दा नेपाली कांग्रेसका माननीय महामन्त्रीज्यूहरुले हाम्रो एजेण्डा छोड्दैनौं भनिराख्नुभएको छ । निश्चय पनि नेपाली कांग्रेसलाई पनि प्रश्न उठ्ने छ । हिजो प्रतिपक्षमा हुँदा, गिरीबन्धु टी स्टेट, गिरीबन्धु टी स्टेट भनेको के हुन्छ ? हामीले जवाफको अपेक्षा गरेका छौं,’– उनले भने ।

साथै, उनले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न आफूभन्दा अघिल्लो अर्थमन्त्री प्रकाशशरण महत र आफूले पनि नसकेको बताए । नेता पुनले वर्तमान अर्थमन्त्रीको काँधमा त्यो चूनौति आएको बताए । देश राजनीतिक दलका नेताहरुले चलाउने हो कि विचौलियाहरुले चलाउने हो ? भन्ने कुरा अब प्रष्ट हुने बताए । नेता पुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने प्रष्ट पारे । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्