Logo

तामाङ समुदायबाट पहिलो मुख्यमन्त्री बनेर इतिहास रच्दै बहादुरसिंह लामा, गरे दाबी पेश



काठमाडौं,८ साउन । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता बहादुरसिं लामाले दाबी पेश गरेका छन् ।

लामाले नेकपा एमाले र कांग्रेसका ६४ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । ११० सदस्यीय प्रदेश सभामा कांग्रेसका ३७ र एमालेका २७ सांसद छन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले साउन ६ गते दुई दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।

कांग्रेस र एमाले बराबर हैसियतमा बागमती सरकारमा सामेल हुन लागेका छन्। कांग्रेसले मुख्यमन्त्रीसहित ६ वटा मन्त्रालय र एमालेले बाँकी ६ मन्त्रालय लिने सहमति छ।

बागमती प्रदेशमा पहिलोपटक नेपाली कांग्रेसले र देशमा पहिलोपटक तामाङ समुदायले मुख्यमन्त्री पाउने भएका हुन्।

हालसम्म कोशीमा शेरधन राई, हिक्मत कार्की, भीम आचार्य, उद्धव थापा र केदार कार्की मुख्यमन्त्री बनेका छन् । मधेशमा लालबावु राउन, सरोजकुमार यादव र सतिसकुमार सिंह मुख्यमन्त्री बन्दा बागमतीमा डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे र शालीकराम जम्कट्टेल मुख्यमन्त्री बनेका छन् । त्यस्तै गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, कृष्णचन्द्र पोखरेल, खगराज अधिकारी र सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्दा लुम्बिनीमा शंकर पोखरेल, कुलबहादुर केसी, डिल्लीराज चौधरी र जोखबहादुर महरा मुख्यमन्त्री बन्दा सोमबारमात्र नयाँ मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त भएका थिए । त्यस्तै कर्णालीमा महेन्द्रबहादुर शाही, जीवनबहादुर शाही, राजकुमार शर्मा र यामलाल कँडेल तथा सुदूरमा त्रिलोचन भट्ट, कमलबहादुर शाह र दीर्घ सोडारी मुख्यमन्त्री बन्दा कुनैपनि व्यक्ति तामाङ समूदायबाट मुख्यमन्त्री भएका छैनन् ।

बागमतीमा पहिलो चरणमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा मुख्यमन्त्री बन्नेछन् । कांग्रेस नेता लामा र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाबीच भएको नयाँ सहमति अनुसार आर्थिक मामिला मन्त्रालय कांग्रेसले लिनेछ भने एमालेले भौतिक पूर्वाधार मन्त्रालय लिनेछ ।



प्रतिक्रिया दिनुहोस्