काठमाडौं,८ साउन । गृहमन्त्री रमेश लेखकले मनसुन सुरु भएपछि अर्थात जेठ २८ गतेदेखि हालसम्म मनसुनजन्य प्राकृतिक प्रकोपका कारण हालसम्म १३० जनाले ज्यान गुमाएको जानकारी गराएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा मन्त्री लेखकले गत जेठ २८ देखि हालसम्म १ हजार ५९२ विपद्का घटना भएको बताए । उनले त्यसक्रममा १३० जनाको मृत्यु र १४४ जना घाइते भएको बताए । त्यस्तै ४८ जना बेपत्ता भएको र ५९४ पशुचौपाया नोक्सानी भएको उनले बताए ।
यसवर्षको बाढी पहिरोबाट २३१ घर र ८४ गोठमा क्षति पुगेको भन्दै उनले ४३ वटा पुल र २ सरकारी भवन भत्किएको बताए । त्यस्तै ४ हजार ४ परिवार विस्थापित हुने अवस्था आएको र जसमध्ये १ हजार ५९ परिवारलाई सुरक्षित स्थानमा सारिएको उनले बताए ।
प्राकृतिक विपदबाट देशका ७७ वटै जिल्ला प्रभावित भएको र विपद्पछिको खोज तथा उद्धारका लागि नेपाल प्रहरीबाट ७ हजार १६९ र सशस्त्र प्रहरीका ३ हजार ९५६ जना खटिएको उनले बताए । ती सुरक्षाकर्मीले ९८९ जनालाई उद्धार गरेको तथा उद्धारमा कतिपय स्थानमा नेपाली सेना समेत खटिएको उनले बताए । उनले प्रभावितहरूलाई आवश्यक राहत सामग्रीको प्रबन्ध गरेको तथा मृत्यु भएकामध्ये ४७ परिवारलाई राहत दिइसकेको र बाँकी प्रक्रियामा रहेको बताए । उनले ४८ जना बेपत्ता भएकाहरूको पत्ता नलागेका परिवारलाई मृतक सरह नै राहत उपलब्ध गराउने निर्णय भएको समेत जानकारी दिए ।
हालै बसेको मन्त्रिपरिषद्को बैठकले प्राकृतिक प्रकोपमा परेर वेपत्ता भएको १० दिनसम्म पनि अवस्था थाहा नभएमा मृतकसरहको मान्यता दिएर क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।
यस्तै मन्त्री लेखकले गत असार २८ गते काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको र रौतहटबाट काठमाडौं आउँदै गरेका दुईवटा वस चितवनको सिमलताल भन्ने ठाउँमा पहिरोमा पुरिँदा त्रिशूलीमा वेपत्ता हुँदा ६२ जना यात्रुमध्ये हालसम्म २४ जनाको शव फेला परेको जानकारी दिएका छन् । उनका अनुसार फेला परेको २४ मध्ये १९ जनाको सनाखत भएको र ५ जनाको सनाखत हुने प्रकृयामा रहेको जानकारी गराए । ४२ जनाको अवस्था हालसम्म अज्ञात रहेको सरकारले जनाएको छ ।