काठमाडौं, ८ साउन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारीले राष्ट्रिय परिचय पत्रमा नेपालीहरुको पहिचान र संस्कृतिलाई अपमान गरिएको भन्दै आपत्ति जनाएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले नेपालीहरुको टोपी, धोती, दौरा, पोते, सिन्दुरलगायतका जातीय र समुदायको पहिचान कसैलाई पनि मेट्ने अधिकार नरहेको बताएका हुन् । उनले शिख धर्मावलम्बीहरुले टाउकोमा साफा लगाउने गरेको, मुस्लिम समुदायका महिलाहरुले बुर्का लगाउने गरेको लगायतका उद्धाहरणहरु प्रस्तुत गर्दै त्यस्ता पहिचान मेटाएर राष्ट्रिय परिचय पत्र बनाउनु समुदायमाथिको अपमान हुने बताए । उनले वर्तमान सरकारलाई राष्ट्रिय परिचय पत्रको सन्दर्भमा रहेको यो व्यवस्था हटाउन निर्देशन दिनसमेत आग्रह गरे ।
‘राष्ट्रिय परिचय पत्रमा हाम्रो संस्कृति, समाज, हाम्रो मान्यता, चाहे टोपी होस्, चाहे धोती होस्, चाहे दौरा, सिन्दुर, पोते देशको पहिचान हो । पहिचानलाई मेट्ने अधिकार हामीलाई छैन । आज शिख धर्मालम्बीहरु जसले टाउकोमा साफा लगाउँछन्, के त्यो देशमा हटाएर फोटो खिचिन्छ ? के मुस्लिम समुदायको दाह्री, महिलाहरुले लगाउने बुर्काहरुलाई हटाएर फोटो खिच्न सकिन्छ ? हामी बहकिएका छौं । हाम्रो सम्पत्ति जो हाम्रो मान्यता हो त्यो माथि अपमान भएको छ,’– उनले भने ।
साथै, सदनमा ठूला मान्छे र ठूला योजनाका बारेमा छलफल भएको र जनतासँग जोडिएका विषय वस्तुमा छलफल नै नभएको उनले बताए । उनले शिक्षाका सन्दर्भमा धेरै कुरामात्रै भएको बताउँदै उनले पहिला समयमा परीक्षा, रिजल्ट, पाठ्यपुस्तकलगायतका कुरा व्यवस्थापन गर्न सक्नुपर्ने बताए । वर्तमान सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।
निवर्तमान सरकारको शिक्षामन्त्रीले एसईईमा असफल भएका विद्यार्थीहरुलाई पुनः परीक्षामा सहभागी हुन दिने निर्णय गरेर धेरै राम्रो काम गरेको भन्दै नेता भण्डारीले प्रशंसा गरे । नेता भण्डारीले एसईईमा अब पनि असफल हुने विद्यार्थीलाई सीपसँग जोड्नुपर्ने बताए ।