काठमाडौं, ८ असार । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले वर्तमान सरकारले लोकतन्त्रको धज्जी उडाएको टिप्पणी गरेका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारको चित्र हेर्दा संसदीय लोकतन्त्र र समावेशी सिद्धान्तको धज्जी उडाइएको टिप्पणी गरेका हुन् । साथै, उनले काशी जान्छु भनेर निर्माण भएको कांग्रेस–एमाले गठबन्धन सरकार कुतीको बाटोमा लागेको टिप्पणी गरे ।
नेता किरातीले लोकतन्त्रमा संख्यामात्रै नै सबै कुरा नहुने बताए । उनले प्रमुख प्रतिपक्षी सानो दल छ भनेर हेप्न खोजिएको समेत टिप्पणी गरे । लोकतन्त्रमा संख्या भन्दा पनि मुद्दाले स्थान पाउनुपर्ने उनको भनाइ छ । सांसदहरुको संख्याले सबै कुरा हुने भए किन महाकाली सन्धिमा राष्ट्रघात भयो ? भन्दै उनले प्रश्न उठाए ।
‘काशी जान्छु भनेर निर्माण भएको सरकार कुतीको बाटो लागेको भन्ने लागेको छ । यो देश तीन करोड नेपाली जनताको हो । यो देश हाम्रो पनि हो । यहाँ आज प्रतिपक्षीहरु सानो छ भनेर ठूलो स्वरले हेप्न पनि थालिएको छ । तर, लोकतन्त्रमा आकारले होईन, मुद्दाले स्थान लिन्छ । आकारले नै सबै कुरा सत्य हुन्थ्यो भने किन महाकाली सन्धिमा राष्ट्रघात भयो ?’ उनले प्रश्न गरे ।
साथै, नेता किरातीले निवर्तमान सरकारको पालामा छानविनको घेरामा रहेका मानिसहरुलाई वर्तमान सरकारले मन्त्री बनाएर उपहार दिएको टिप्पाण्ी गरे । वर्तमान सरकार सुशासनको मुद्दा, राष्ट्रिय आवश्यकता र जनताको आकांक्षालगायतका विषयको विरुद्धमा रहेको कुरा हिजो (सोमबार) प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा प्रष्ट भएको उनले बताए ।
‘सरकार बदलियो । सरकार बदलिएसँगै धेरै कुरा बदलियो । हिजो छानविनको कुरा उठिरहँदाखेरी केही मान्छेले सिमाना नाघ्यो भन्थे । देश छोड भन्थे । पुरस्कारस्वरुप आज उनीहरु ठूला–ठूला मन्त्री भएका छन् ।’ पूर्वमन्त्री किरातीले भने, ‘सुशासनको मुद्दा, राष्ट्रिय आवश्यकता र जनताको आकांक्षा प्रधानमन्त्रीज्यूको हिजोको भाषण, के यो प्रवृत्तिले छुनसक्छ ? यो प्रश्न उठेको छ । जे–जे भएपनि यहाँहरुले जगतलाई मुर्ख बनाउनु भएको छ । संविधान संशोधनको जामा लगाइदिनु भएको छ ।’