Logo

ला ! मैले त मन्त्रीज्यूलाई बधाई नै दिईन, कतै रिसाउनु त भएन ?



  • सुदीप सिम्खडा

नेपालको अस्थिर राजनितिको कारण हामी अक्सर राजनीतिक दल र तिनका नेताहरू मान्छौँ । तर, राजनीतिक दल आफैंमा के हो ? एउटा वैचारिक सङ्गठन ? कुनै पनि राजनीतिक दलको जग, विचार र विभिन्न काल खण्डमा योगदान पुर्‍याएका व्यक्तित्वहरूबाट निर्मित हुन्छ र यसले जनमानसमा गहिरो प्रभाव पारेको हुन्छ। त्यसैले नै होला मानिसहरू अक्सर राजनीतिलाई आस्था र पुर्खौली विरासत मान्ने गर्छन्।

वर्तमान राजनीतिक अवस्थाले त्यो आस्था र विश्वास पछिल्लो पुस्तामा निकै कमी ल्याएको देखिन्छ। बढ्दो राजनीतिक साक्षरता र सक्रियताले युवा पुस्तालाई बेथिति र बिसङ्गति विरुद्ध आवाज उठाउन हौसला पनि प्रदान गरेको छ। मुलुकको राजनीतिक भविष्य अब आउने नयाँ पिँढीको प्रश्न गर्ने क्षमताले निर्धारण गर्छ। कार्यकारी तहमा रहेका व्यक्तिहरूलाई जवाफदेही र निरन्तर खबरदारी गर्न सकेमात्र मुलुकको वर्तमान अवस्थामा सुधार ल्याउन सकिन्छ।

लोकतन्त्रमा धर्म भनेको नै प्रश्न गर्नु हो। र हरेक प्रश्नको उत्तर दिनु राजनीतिक नेतृत्वको जिम्मेवारी पनि हो। देशमा बढ्दो राजनीतिक अस्थिरताले जनतामा निराशा त छाइरहेको छ नै, देशको अन्तर्राष्ट्रिय छविमा पनि नकारात्मक असर परेको छ। विडम्बना मुलुकले फेरि एउटा नयाँ सरकार पाएको छ, राजनीतिक दलहरूले कुर्सीको भागबण्डा पाएका छन्, मन्त्री बन्नेहरूले बधाई पाएका छन्, कार्यकर्ताहरूले झोला बोक्न पाएका छन्, अनि हामी आम जनताले के पाइरहेका छौँ ?

संयोगवश मेरो जिल्लाले पनि एउटा मन्त्री पायो, मन्त्रीले त सुविधा, सुरक्षाको साथ एउटा पुरा नगरे पनि हुने जिम्मेवारी पाएका छन् । मन्त्रीका परिवारले खुशी पाएका छन्, उनका इस्ट मित्रले सान पाएका छन् । उनका पार्टीका कार्यकर्ताहरूले झोला बोक्न पाएका छन्, अनि यहाँ त नचिन्नेहरूले पनि बधाईसम्म दिन पाएका छन्। यहाँ केही नपाउने त केवल म रहेछु।

मैले परिकल्पना गरेको दीर्घकालीन विकास, समृद्धि, सभ्य समाज, सचेत नागरिक, मैले सायदै मन्त्रीज्यूबाट अपेक्षा गर्न सक्छु। उहाँ आज मन्त्री हुनुभएको पनि हप्ता दिन हुन लाग्यो होला । उहाँले साताभरि पाउनु भएको सम्मान, खादा, फूलका माला र रातो अबिरको भारले उहाँ आफैँ निसासिनु त भएको छैन ? उहाँले पार्टी, वडा, विद्यालयदेखि लिएर साना सहकारीसम्मका कार्यक्रममा उपस्थिति जनाउनु भएको छ। कुनै पनि पदमा नियुक्ति हुनुमात्र आजको राजनीतिक उद्देश्य बनेको हो ? हो भने उहाँलाई मेरो पनि बधाई सुनाइदिनु ।

देश छाडेका त जिम्मेवारी र दुःखको झोला बोकेका हरूले रहेछन्, राजनीतिक दलका झोला बोक्नेहरूको त देशमा कमी नै छैन। जबसम्म यो पुस्तामा नेतृत्वलाई प्रश्न गर्नु नै धर्म हो भन्ने चेतना जागरूक हुँदैन तबसम्म नेतृत्व त फेरिएला तर देश र जनताको अवस्थामा भने उल्लेख्य सुधार आउने छैन।

यसै मार्फत सम्पूर्णलाई अनुरोध गर्न चाहन्छु कि, हामीले जो कोहीलाई पनि नेतृत्व तहमा पुर्‍याएका छौँ, उहाँहरूलाई त्यहाँ गएर काम गर्नको लागि हो र जबसम्म त्यो उद्देश्य पूरा हुँदैन हामीले निरन्तर प्रश्न गरिरहनु पर्छ। कुनै पनि पदमा पुग्नु आफैंमा ठूलो विषय होइन, र हामीले यसलाई सामान्य रूपमा लिएर, उहाँप्रति अझ ठूलो जिम्मेवारी थपिएको बोध गराउनु र त्यसको सकारात्मक परिणामको लागि हामीले हरदिन प्रश्न गरिराख्नुपर्छ।



प्रतिक्रिया दिनुहोस्