Logo

निर्मला पन्त हत्याकाण्डको ६ वर्ष पूरा: ५ गृहमन्त्री, ५ आईजीपी र ८ डीआईजी फेरिए, नतिजा शून्य



काठमाडौं,१० साउन । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन राज्यले गरेको करोडौंको लगानी बालुवामा पानी खन्याएसरी भएको छ । ०७५ सालको साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षिया बालिका निर्मलाको बलात्कारपछि उखु बारिमा शव भेटिएको थियो ।

साथीसँग खेल्न जान्छु भनेर घरबाट निस्किएकी पन्तको शव घरभन्दा एक किलोमिट टाढा उखुबारीमा भेटिएको थियो । तत्कालीन अवस्थामा राजनीतिक तहमासमेत ठूलै उथलपुथल ल्याउन घटनाको रुपमा चित्रण गरिएको यस घटनाका मूख्य व्यक्ति हालसम्म पनि पक्राउ पर्न सकेका छैनन् । प्रहरीले आफ्नो काम गरिरहेपनी हालसम्म नतिजा दिन नसक्दा यस घटना टुंगोमा पुग्नेमा आशंका उब्जिन थालेको छ ।

शव भेटिएपछि गरिएको मेडिकल रिपोर्टमा पन्तको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो । घटनाको एक महिनापछि प्रहरीले स्थानीय एक व्यक्तिलाई पक्राउ गरेर सार्वजनिक पनि गरेको थियो । मानसिक सन्तुलन ठीक नभएका दीलीपसिंह विष्टलाई निर्मलाका हत्यारा भन्दै प्रहरीले सार्वजनिक गरेको थियो । तर, घटनालाई पुष्टि हुने कुनै पनि आधार र प्रमाण जुट्न नसक्दा उनी केही दिनमै थुनामुक्त भएका थिए ।

सार्वजनिक गरिएका विष्ट वास्तविक अपराधी नभएको भन्दै स्थानीयले चर्को विरोध गरेका थिए । विष्ट पक्राउ परेपछि विरोध जनाउँदै स्थानीइ वासिन्दाले कयौं दिनसम्म सडकमा आन्दोलनसमेत गरेका थिए भने

नक्कली व्यक्तिलाई उभ्याएर वास्तविक अपराधीलाई उम्काउन खोजेको आरोप प्रहरीले खेप्यो । अपराध अनुसन्धानमा गम्भीर लापरबाही गरेको र प्रमाण नष्ट गरेको भन्दै तत्कालीन जिल्ला प्रहरी कार्यालय कन्चनपुर प्रहरी प्रमुख (एसपी) डिल्लीराज विष्टसहितका केही प्रहरी बर्खास्त भए । विभागीय कारबाहीमार्फत् बर्खास्त भएका एसपी विष्टसहितका प्रहरीले अदालतबाट सफाई पाए ।

सीआईबीले अनुसन्धानका लागि विभिन्न टोली पठाए पनि अभियुक्त भने पत्ता लगाउन सकेको छैन ।निर्मलाको न्यायका लागि भएको आन्दोलनमा प्रहरीको गोली लागेर थप एक युवकको समेत मृत्यु भएको थियो । प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ ।

५ गृहमन्त्री फेरिए अवस्था उस्तै

निर्मलाको हत्या भएपछि हालसम्म ५ जनाले गृह मन्त्रालयको कमाण्ड सम्हालिसकेका छन् । तर, नतिजा भने शून्यप्राय नै छ । घटना हुँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा अ‍ोली थिए । जो फेरिपनि प्रधानमन्त्रीको रुपमा सत्तामा आईपुगेका छन् । गृहमन्त्री भने रामबहादुर थापा (वादल) थिए । तत्कालीन नेकपाको शक्तिशाली सरकार रहँदा पनि घटनाबारे कुनै निष्कर्ष निकाल्न सकिएन् ।

एमाले नेतृत्वको सरकार ढलेपछि सर्वोच्च अदालतको परमादेशपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारमा बालकृष्ण खाँण गृहमन्त्री बने । उनले पछि हत्यारा पत्ता लगाउने घोषणा गरे । तर, उनको कार्यकालमा पनि कुनै प्रगती भएन् । ०७९ सालको निर्वाचनपछि बनेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नारायणकाजी श्रेष्ठ गृहमन्त्री बने । उनले पनि हत्यारा पत्ता लगाउन सकेनन् ।

श्रेष्ठ गृहमन्त्री हुनुअघि केही दिन र त्यसपछि करिव ४ महिना राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री बनेका थिए । दिननै तोकेर निर्मलाका हत्यारा पत्ता लगाउने उद्घोष गरेका रविले पनि केही गर्न सकेनन् । सत्ताबाट हट्नेबेला निर्मलाको हत्यारा पत्ता लाग्न लागेको भाषण गर्नु रविले पनि केही गर्न सकेनन् । लामिछानेपछि हाल निर्मलाकै गृह जिल्लाबाट निर्वाचित सांसद रमेश लेखक गृहमन्त्री छन् । उनले पनि हत्यारा छिट्टै पत्ता लाग्ने भाषण आम निर्वाचनताका नै गरेका थिए । तर, उनको पालामा पनि यस घटना टुंगोमा पुग्नेमा आशंका उब्जिएको छ ।

प्रहरीका ५ प्रमुख र ८ डीआईजी फेरिए

निर्मलाको हत्यापछि हालसम्म नेपाल प्रहरी ५ जना प्रमुख बनेका छन् । घटना हुँदा प्रहरीका आइजीपी सर्वेन्द्र खनाल थिए । त्यसपछि क्रमश ठाकुर ज्ञवाली, शैलेश थापा क्षेत्री, धिरजप्रताप सिंह आईजीपी बने, भने हाल बसन्तबहादुर कुँवर आईजीपी छन् ।

५ जना प्रहरी प्रमुख फेरिएजस्तै कञ्चनपुरमा मात्र घटनादेखि हालसम्म ५ जना डीआईजीले काम गरिसकेका छन् । तर, नतिजा भने शून्य छ । सुदूरपश्चिम प्रदेश प्रहरीको तथ्यांक अनुसार निर्मला हत्याकाण्ड हुँदा तत्कालिन सुप प्रदेशको प्रहरी प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डिआईजी) सुरज केसी थिए । त्यसपछि क्रमशः डिआइजीहरु तारणी प्रसाद लम्साल, उत्तम सुवेदी, पुरुषोत्तम कँडेल, मोहन कुमार आचार्य, अशोक सिंह, निमित्त प्रदेश प्रमुख एसएसपी जनकराज पाण्डेय, निमित्त तथा प्रदेश प्रमुख भरत बहादुर बोहरा, हाल डिआईजी रविन्द्र केसी रहेका छन् ।

रविको पहिलो निर्णयले पनि गरेन काम

निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राजनीतिमा आउनुअघि टेलिभिजनमा पत्रकारीता गरिरहेका थिए । घटना हुँदाका वखत पत्रकार रहेका लामिछानेले राज्यमाथि दोषारोपन गर्दै चर्कोस्वरमा आवाज उठाएका थिए । उनै लामिछाने ०७९ सालको पुसमा बनेको प्रचण्ड नेतृत्वको सरकारमा गृहमन्त्री बने । उपप्रधानसहति शक्तिशाली गृहमन्त्री बनेका लामिछानेले पहिलो निर्णयनै निर्मलाका हत्यारा पत्ता लगाउने थियो । तर, त्यो निर्णय हालसम्म अलपत्र छ । गृहमन्त्री हुँदा लामिछानेले गरेको निणर्यमा भनिएको छ, ‘११ साउन ०७५ मा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको अनुसन्धान अहिलेसम्म प्रभावकारी हुन सकेको छैन । यस सन्दर्भमा उक्त हत्याको छानबिन गरी दोषीलाई कारबाही गर्न आवश्यक छ । पीडित परिवारलाई न्याय दिन शंकास्पद व्यक्तिलाई छानबिन गर्नुपर्छ । तथ्ययुक्त प्रमाण संकलन गरेर पीडितलाई न्याय दिन प्रहरी प्रधान कार्यालयलाई दिर्नेशन दिन निर्णयार्थ यो प्रस्ताव सदर गरेको छु ।’

केन्द्रीय जाँच व्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आ–आफ्नै तरिकाले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । अहिलेसम्म प्रहरीले एक सयभन्दा धेरै व्यक्तिको डिएनए संकलन गरी प्रयोगशालामा जाँच गराइसकेको छ भने एक दर्जन व्यक्तिलाई हिरासतमा लिएर पनि अनुसन्धान गरिसकेको छ । तर, अहिलेसम्म अपराधी पत्ता लाग्न सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्