Logo

आफूनिकट राजकुमारलाई दलको नेता बनाएर मन्त्री बनाउने रेशमको प्रयासमा ‘ब्रेक’,प्रदेश सभाले दिएन मान्यता



काठमाडौं,११ साउन । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट लुम्बिनी प्रदेश संसदीय दलको नेता फेरिएको भन्दै प्रदेश सभामा पेस भएको निवेदनलाई प्रदेश सभाले मान्यता नदिएपछि दल नेता फेर्ने निर्णय असफल भएको हो ।

प्रदेश सभाले बिहीवार उपलब्ध गराएको दलगत विवरणमा संसदीय दलको नेतामा धर्मबहादुर चौधरी नै छन् । दलगत विवरणमा राजकुमार चौधरी प्रमुख सचेतक, नरमाया ढकाल सचेतक र निर्मलादेवी थारु प्रदेश सभा सदस्य रहेकी छन् ।

संसदीय दलको नेताबाट धर्मबहादुर चौधरीलाई हटाएर राजकुमार चौधरीलाई तोकिएको विवरण सहितको पत्र गत ७ गते प्रदेश सभामा पेश गरिएको थियो । बहुमत सांसदको सोमबार बसेको बैठकले राजकुमार चौधरीलाई दल नेता बनाउने, प्रमुख सचेतकमा नरमाया ढकाल र सचेतकमा निर्मलादेवी थारूलाई चयन गरिएको उल्लेख थियो ।

लुम्बिनीमा नाउपाका ४ जना सांसद छन् । संसदीय दलको नेताबाट हटाईएका चौधरी पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ निकट हुन भने राजकुमार संरक्षक रेशमलाल चौधरी पक्षका हुन् । रञ्जिता र रेशम श्रीमान श्रीमती हुन तर, यी दुईले पछिल्ला केही महिनायता आ आफ्नो गुट खडा गरेका छन् । सुदूरपश्चिममा लामो समयसम्म पार्टीमा विवाद कायमै छ ।

लुम्बिनीमा धर्मबहादुर चौधरी यसअघि दुई पटकसम्म मन्त्री भईसकेका छन् भने रेशमले आफू पक्षका राजकुमारलाई दलको नेता बनाएर मन्त्री बनाउने तयारी थियो । तर, प्रदेश सभाले मान्यता नदिएपछि धर्मबहादुरनै सरकार जाने करिव पक्कापक्की भएको नाउपाका नेताहरु बताउँछन् ।



प्रतिक्रिया दिनुहोस्