Logo

आईसीयूबाट वार्डमा सारिएका सौर्य एयर दुर्घटनाका घाइते पाइलटको अवस्था कस्तो छ ?



काठमाडौं,११ साउन । साउन ९ गते सौर्य एयरको विमान दुर्घटनामा घाइते भएका पाइलट मनीषरन्त शाक्यलाई आईसीयूबाट नर्मल वार्डमा सारिएको छ। काठमाडौँ मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ ।

बुधबार भएको दुर्घटनामा विमानमा रहेका १९ जनामध्ये उनी मात्र जीवित रहेका छन् । उनलाई बिहीबार साँझै आईसीयूबाट बाहिर निकालिएको अस्पतालले जनाएको छ ।

शाक्यको अनुहार, आँखा, नाक, टाउकोमा चोट लागेको छ भने ढाडको एउटा हड्डी भाँचिएको छ । यस्तै बायाँतर्फबा तवटा करंगहरू भाँचिएका छन् ।

बोल्न सक्ने अवस्थामा रहेका शाक्यले डाक्टरसँग विमान दुर्घटनाबारे महत्वपूर्ण जानकारी दिएका थिए । उनले विमान ५० देखि १०० फिट माथि पुगेपछि नियन्त्रणमा लिन नसकेको बताएका थिए ।

काठमाडौंबाट पोखरा जान लागेको आफ्नै कम्पनीका कर्मचारी बोकेको विमान त्रिभुवन विमानस्थलभित्रै दुर्घटनामा परेको थियो । सो दुर्घटनामा परेका एकाघरका तीनसहित १८ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउने १८ मध्ये १७ जना पुरुष र एक जना महिला छन् । १७ जना पुरुषमध्ये एक जना विदेशी नागरिक हुन् । आरिफ रेडा नाम ती विदेशी नागरिक यमनका रहेको बताईएको छ ।

सो विमान दुर्घटनामा परेर को पाइलट सुशान्त कटुवालसहित विमानमा चालकदलबाहेक अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मञ्जुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडाले ज्यान गुमाएका थिए ।

यसैबीच दुर्घटनमा मृत्यु भएका १८ जनाको शव पोस्टमार्टमको काम सकिएको छ। शुक्रबर बिहान शव पोस्टमार्टमको काम सकिएको र अब शव पहिचानको काम सुरु भएको अस्पतालले जनाएको छ। शवको पोस्टमार्टम सकिएपनि आफन्तसँग छलफलपछि मात्र शव हस्तानान्तरण गर्ने अस्पतालको तयारी छ ।

मृतकका परिवारले भने क्षतिपूर्तीको विषय टुंगो लगाएपछि मात्रै शव बुझ्ने अडानमा छन्। उनीहरूसँग सरकारी पक्षले छलफल थालेको छ। 



प्रतिक्रिया दिनुहोस्