Logo

मुख्यसचिवका लागि १ वर्षदेखि ३ वर्षसम्म चलाउनेबीच प्रतिस्पर्धा



काठमाडौं, १२ साउन । महिलाबाट पहिलो मुख्यसचिव भएकी लीलादेवी गड्तौला यहीँ भदौं १५ गते ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशका जाँदैछिन् । उनी छोटो समय मुख्यसचिव बनेपनि महिलाबाट मुख्यसचिव हुने पहिलो व्यक्तिका रूपमा ‘रेकर्ड’ कायम गर्न सफल भएकी छिन् । अबको एक महिनापछि गड्तौला मुख्यसचिवको भूमिकाबाट बिदाई हुनेछिन् । त्यसैले उनको उत्तराधिकारीको अहिलेदखि नै खोजी सुरू भएको छ । यसका लागि एक वर्ष मुख्यसचिव हुनेदेखि ३ वर्ष पूरा कार्यकाल चलाउनेसम्मका सचिवहरू प्रतिस्पर्धामा देखिन्छन् ।

राजनीतिक स्थिरताका लागि भनेर नयाँ गठबन्धन बनाएका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले प्रशासनिक स्थिरतामा पनि उत्तिकै जोड दिन खोजेको पाइन्छ । कांग्रेसएमालेको शीर्ष तहमा पूरा कार्यकाल चलाउनेलाई मुख्यसचिव बनाउनु पर्ने बहस सुरु भएको छ । राजनीति स्थिरताका नारा दिएर एक ठाउँमा पुगेका कांग्रेस(एमाले प्रशासनिक स्थिरताका लागि भने कतिको दृढतापूर्वक उभिन सक्छन् हेर्न बाँकी छ ।

कोशी प्रदेशको तेह्रथुम जिल्लामा जन्मिएकी गड्तौलालाई महिलाबाट पहिलो मुख्यसचिव बनाएर केपी शर्मा ओली नेतृत्वको सरकारले इतिहास राख्न र त्यसको ‘जस’ लिन सफल भएको छ । पुर्खौली थलो एकै ठाउँ भएका प्रधानमन्त्री ओली र मुख्यसचिव गड्तौलाबीच यहीँ सेतुले ठूलो काम गरेको देखिन्छ । मुख्यसचिव हुँदै गड्तौला राष्ट्रिय समावेश आयोगको अध्यक्ष हुने सम्भावना उच्च छ । मुख्यसचिव गड्तौलालाई राष्ट्रिय समावेशी आयोगको भावी अध्यक्षका रूपमा समेत हेर्न थालिएको हो ।

गड्तौलापछि मुख्यसचिवका लागि राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालका सचिव दिनेश भट्टराई र गृह मन्त्रालयका सचिव एकनारायण अर्यालबीच मुख्य प्रतिस्पर्धा देखिन्छ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले यहीँ फागुन १६ गते ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाउन लागेकाले उनको नाम मुख्यसचिवको प्रतिस्पर्धामा खासै चर्चामा छैन । राष्ट्रिय तथ्याङ्क कार्यालयमा कार्यरत सचिव अर्जुनप्रसाद पोखरेल पनि प्रतिस्पर्धामा पछाडि नै देखिन्छ ।

मुख्यसचिवको प्रतिस्पर्धामा रहेका गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले एक वर्ष मात्र मुख्यसचिव चलाउँछन् भने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईले ३ वर्ष पूरा मुख्यसचिव चलाउने देखिन्छ । मुख्यसचिवको प्रतिस्पर्धामा रहेका राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी पनि पूरा अवधि मुख्यसचिव चलाउन नपाउनेमा पर्छन् ।

गृह मन्त्रालयका सचिव एकनारायण अर्याल २०२४ साल मंसिर १० गते जन्मिएका हुन् । उनी लीलादेवी गड्तौलापछि मुख्यसचिव भइहाले भने एक वर्ष ३ महिना पनि चलाउन पाउँदैनन् । सचिवको ५ वर्षे सेवा अवधिका कारण अर्याल फागुन १८ गतेसम्म सरकारी सेवामा रहन्छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यसचिव लीलादेवी गड्तौलासँगैं पुर्खौली थलो भएका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईले २०२७ साल पुस २२ गते जन्मिएका हुन् । गड्तौलापछि मुख्यसचिव बने उनले ३ वर्ष पूरा कार्यकाल मुख्यसचिव चलाउन पाउनेछन् । भट्टराई २०७६ माघ २० गते नेपाल सरकारको सचिवमा बढुवा भएका थिए ।

अहिलेका सचिवमध्ये सबैभन्दा वरिष्ठ राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली २०२५ साल फागुन २६ गते जन्मिएका हुन् । गड्तौलापछि मुख्यसचिव बने उनले पनि पूरा कार्यकाल चलाउन पाउने छैनन् । ज्ञवालीले साढे दुई वर्ष जति मात्र मुख्यसचिव चलाउन पाउने देखिन्छ । सचिवको ५ वर्षे उमेर हदका कारण यही भदौं २२ गते ज्ञवाली घर जाँदैछन् ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले पनि मुख्यसचिव पाए पूरा अवधि चलाउन नपाउने देखिन्छ । २०२५ पुस १५ गते जन्मिएका सुवेदी ५८ वर्ष पुग्न साढे २ वर्षभन्दा कम अवधि बाँकी छ । सचिवको ५ वर्षे उमेर हदका कारण सुवेदी यहीँ कात्तिक ५ गते घर जाँदैछन् । ज्ञवाली, सुवेदी, भट्टराई र अर्यालमध्येबाटै भावी मुख्यसचिव बन्ने देखिन्छ । लीलादेवीका उत्तराधिकारी को बन्छन् भनेर भदौं १५ कटेपछि मात्र थाहा हुन्छ ।



प्रतिक्रिया दिनुहोस्