Logo

कोशीमा कांग्रेस-एमालेबीच मिल्यो भागबन्डा, ओली प्रधानमन्त्री रहुन्जेल हिक्मत मुख्यमन्त्री बन्ने सहमति



काठमाडौं,१३ साउन । हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस भोलि सहभागी हुने भएको छ । सत्ता साझेदार दल नेकपा एमाले र कांग्रेसबीच भएको सहमति अनुसार कांग्रेसले ४ मन्त्री र एक राज्यमन्त्री लिने र एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिने सहमति भएको हो ।

शनिबार काठमाडौंस्थित बानेश्वरमा बसेको कांग्रेस र एमालेका नेताहरुबीच बैठकले भागवण्डामा सहमति जुटाएको हो । सहमतिअनुसार एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिने भएको हो ।

बैठकमा सहभागी एमालेका एक नेताका अनुसार मन्त्रालयको विषयमा मोटामोटी सहमति टुंगिएको हो । बैठकमा एमालेको तर्फबाट मुख्यमन्त्री हिक्मत कार्की, आर्थिक मामिलामन्त्री राम राना र प्रमुख सचेतक रेवतीरमण भण्डारी रहेका थिए भने, कांग्रेसको तर्फबाट कांग्रेस संसदीय दलका नेता उद्धव थापा, प्रमुख सचेतक गोपल तामाङ र नेता रमेशजङ्ग रायमाझी रहेका थिए ।

सहमतिअनुसार कांग्रेस सोमबार सरकारमा सहभागी हुनेछ । मुख्यमन्त्री कार्कीले यसअघि माओवादीलाई जिम्मा दिएको मन्त्रालयहरु कांग्रेसलाई जिम्मा लगाउने तयारीमा रहेका छन् । कांग्रेसले चार मन्त्रालय पाउने सहमति भएको छ ।

कोशी प्रदेश सरकारमा माओवादी केन्द्रले सरकार छाडेपछि अहिले भौतिक पूर्वाधार, स्वास्थ्य, पर्यटन वन तथा वातावरण मन्त्रालय खाली रहेको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालय कांग्रेसले पाउने सम्भावना रहेको छ ।

त्यस्तै केन्द्रमा केपी शर्मा अ‍ोली प्रधानमन्त्री बनुञ्जेल कोशीमा हिक्मतनै मुख्यमन्त्री रहने र शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कोशीमा कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति पनि भएको एक नेताले जानकारी दिए । सहमति अनुसार कोशीमा अब हिक्मत कार्कीपछि उद्धव थापा मुख्यमन्त्री बन्नेछन् । त्यस्तै शनिबारकै बैठकले प्रदेश सभामा रहने संसदीय समितिमा पनि बराबर भागबन्डा गर्ने सहमति गरेको छ । ७ वटा संसदीय समितिमध्ये २ दलले ३/३ वटा लिने र सार्वजनिक लेखा समिति प्रतिपक्षीलाई दिने सहमति भएको नेताहरुले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्