Logo

प्रधानमन्त्री ओलीले हेपेको भन्दै रास्वपाको आपत्ति, ढकालले भने: हामी सक्षम व्यक्ति हौं, अपूताली खाने नातिनातिना होइनौं



काठमाडौं,१३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेपाल प्रहरीका डीआईजी मनोज केसीको सरुवा भएकोप्रति आपत्ति जनाएका छन् ।

आइतबार बसेको सदनको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरिरहेका मनोज केसीलाई सरुवा गरेको भन्दै आपत्ति जनाए । उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पालामा भएको प्रहरी निरिक्षकको सरुवामा प्रश्न उठाउने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासँग यसबारेमा जवाफ माग गरेका छन् ।

‘मनोज केसीलाई कसरी सरुवा गरियो ? । विश्वासको मत लिएको २ दिन भित्रमा सरुवा गरियो । किन केका लागि हामीले यो सरकार किन र कुन उदेश्यले बनेको भनेर प्रश्न गरिरहँदा जुक तर्क प्रस्तुत गरेका थियौं त्यसैलाई पुष्टि भयो’ उनले भने ‘कांग्रेसका महामन्त्रीले असार १० गते एउटा पोष्ट गर्नुभयो । प्रहरी निरिक्षकको सरुवाबारे गलत भाष्य निर्माण गर्नका लागि । म आज डीआईजी केसीको सरुवाबारे तपाई बोल्न सक्नुहुन्छ यो सदनमा ? सक्नुहुन्न’ ।

सांसद ढकालले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले विश्वासको मत लिँदा रास्वपालाई नातिनातिनाको संज्ञा दिएको भन्दै आपत्ति जनाएका छन् । उनले आफूहरु ओलीले भनेकोजस्तो अपूताली खाने नातिनातिना नभएको जिकिर गरे ‘यसरी हामीले जनभावना विपरितका कार्यमा जनताका आवाजहरु सदनमा राखिरहँदा नातिनातिनाको संज्ञा दिईन्छ । हामी नाति नातिनानै हौं । डिठ्ठा साव र काजीसावका रवैयाहरुलाई खवरदारी गर्ने अव्वल सक्षम र पढेलेखेका नातिनातिका हौं । हामी गाउँघर तिर भनिने गरेकोजस्तो अपूताली खाने नातिनातिना होइनौं’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्