Logo

भुटानी शरणार्थी काण्डमा जोडिएकालाई मन्त्री पदले पुरस्कृत गर्दा अनुसन्धान गर्नेलाई सरुवा गरेर दण्ड दिईयो: सांसद पराजुली



काठमाडौं,१३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकी कांग्रेस सांसद डा आरजु राणालाई मन्त्री बनाएको र अनुसन्धान गरिरहेका प्रहरी अधिकृतलाई सरुवा गरिएको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार बसेको सदनको बैठकमा बोल्दै सांसद पराजुलीले सरकारको व्यवहारका कारण यो सत्ता समीकरण के र कसका लागि बनेको हो भन्ने पुष्टि हुँदा गएको जिकिर गरे । उनले शरणार्थी प्रकरणलाई सामसुम पार्न डीआईजी मनोज केसीलाई सरुवा गरेको दाबी गरे ।

‘एउटा घटनाक्रमले हामी सबैको ध्यानाकर्षण भएको छ । विश्व जगतमा नेपालीले शिर झुकाउनुपर्ने गरि भएको एउटा यस्तो भ्रष्टाचार काण्ड जसले नेपाली नागरिकलाई नक्कली भुटानी नागरिक बनाएर अमेरिका पठायो । त्यो भ्रष्टाचारको घटनामा जोडिएका सबैभन्दा महत्वपूर्ण राजनीतिक दलका व्यक्ति जोडिनुभएको छ । अझ भन्नपर्दा त्यो काण्डमा जोडिएका नेता यहि सदनमा र सरकारको मन्त्री बनेका छन्’ उनले भने ।

उनले भुटानी शरणार्थी प्रकरणको छानबिन गरिरहेका डीआईजी मनोज केसीलाई सरुवा गरिएकोबारे आपत्ति जनाएका छ्न ‘शरणार्थी काण्डमा मुछिएकालाई मन्त्री पदले पुरस्कृत गर्दा छानबिन गर्ने अधिृकतलाई सरुवा गरेर दण्ड दिइयो । यसबारे सरकारले जवाफ दिनुपर्छ’ उनले भने । केसी उनै प्रहरी अधिकृत हुन, जसले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्दामा संलग्न बेचन झालाई पक्राउ गरेका थिए ।

डिआइजी केसीले झामात्रै नभएर पूर्वगृहमन्त्री एवम् एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का छोरा प्रतीकलाई पनि पक्राउ गरेका थिए । झा र थापा पक्राउपछि नेपाली राजनीति तरंगित बनेको थियो ।

केसीको सरुवा दुई महिनापनि नपुगी भएको छ । उनलाई विशेष ब्युरोमा खटाएको दुई महिना नपुग्दै अहिले गृहमन्त्रालयले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सुरुवा गरेको छ । केसीको ठाउँमा डिआइजी राजन अधिकारीलाई ल्याईएको छ ।



प्रतिक्रिया दिनुहोस्