Logo

साना दलहरुको बार्गेनिङ सधैंका लागि अन्त्य गर्न एमाले-कांग्रेस सरकार बन्योः महासचिव पोखरेल



काठमाडौं, १३ साउन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकार बनाउने सन्दर्भमा साना दलको बार्गेनिङ सधैंका लागि अन्त्य गर्न एमाले र कांग्रेस मिलेको बताएका छन् । आज (आइतबार) पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोन गर्दै उनले साना दलले प्रधानमन्त्री नै माग्न थालेपछि कांग्रेस–एमाले मिल्नुको विकल्प नभएको बताएका हुन् ।

‘प्रधानमन्त्री आलोपालो, साना पार्टीहरुले हामी नभए सरकार नै बन्दैन हामीलाई त प्रधानमन्त्री चाहियो भन्नथाले । मन्त्रीसम्म मागेको भए त ठीकै थियो । साना पार्टीले प्रधानमन्त्री नै नभइ हुँदैन भन्ने कुराहरु देखापर्यो । त्यो नै आजको राजनीतिको मुख्य चुनौति हो । त्यसलाई चूनौति दिनका लागि हामी नयाँ यात्रामा प्रवेश गरेका छौं । ठूला पार्टी नै मिलेर बार्गेनिङ गर्ने चिज सधैंका लागि अन्त्य गर्ने,’– उनले भने ।

साथै, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूसँग ३२ सिटको जादुगरी नम्बर छ भनेर जनमतलाई नै अपमान गरेको उनको आरोप छ । उनले पार्टीले हारेर आफू निर्वाचित भएपछि प्रधानमन्त्री बन्न पाइन्छ भन्ने आशयले प्रचण्डले अभिव्यक्ति दिएको समेत बताए । ‘३२ त म्याजिक नम्बर हो भन्दै हिँड्नुभयो पूर्वप्रधानमन्त्रीजी । जनताको जनमतमाथि नै उपहास गर्ने कुरा भयो । जनताले जसलाई मन पराउँछन्, त्यसले शासन गर्नुनै लोकतन्त्र हो । पार्टीलाई जिताएपछि प्रधानमन्त्री हुने होईन कि हारेपछि भइन्छ भनेपछि जित्ने लडाइँ कसले लड्छ र ? आफू जित्ने, अरु बाँकीलाई हराइदिने, त्यसपछि प्रधानमन्त्री खाने । त्यो खालको राजनीति उपयुक्त हुँदैन,’– उनले भने ।

साथै, अहिले सांसद भएकाहरु जसरी पनि मन्त्री बन्नुपर्छ भनेर लागिपरेको उनले टिप्पणी गरे । मन्त्री भएन भने काम लाग्ने रहेन छ भन्ने धारणा नै विकास हुन थालेको बताए । मन्त्री हुनका लागि भन्दा पनि नीति र कानुन बनाउनका लागि सांसद बन्ने कुरालाई भुल्न नहुने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्