Logo

रघुजीको प्रस्तावः मेडिकल विश्वविद्यालयहरुको कूलपति प्रधानमन्त्री नराखौं



काठमाडौं, १३ साउन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले मेडिकल विश्वविद्यालयको कूलपति प्रधानमन्त्री रहने व्यवस्था परिवर्तन गर्नुपर्ने बताएका छन् । आज (आइतबार) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भनी पेश गरेको प्रस्तावको छलफलमा भाग लिँदै उनले मेडिकल शिक्षा प्राविधिक विषय रहेकाले प्रधानमन्त्रीलाई संरक्षकमात्रै राख्न सुझाव दिएका हुन् ।

‘हाम्रा विश्वविद्यालयहरुमा कूलपति प्रधानमन्त्री, सहकूलपति शिक्षामन्त्री हुने व्यवस्था छ । मेडिकल विश्वविद्यालयमा पनि प्रधानमन्त्रीलाई कूलपति राख्नुभन्दा संरक्षक राख्दा हुन्छ । सहकूलपति राख्नुको सट्टा शिक्षामन्त्रीलाई सह–संरक्षक राख्दा हुन्छ । यसलाई प्रभावकारी संरचनाको रुपमा अगाडि बढाउने कानुनी संरचना दिने कुरामा सरकारले ध्यान दिन जरुरी छ,’– उनले भने ।

मेडिकल विश्वविद्यालय अरु विश्वविद्यालयभन्दा पनि आर्थिक रुपले महँगो रहेको स्मरण गराउँदै उनले स्ट्याण्डर मेन्टेन गर्ने कुरामा सरकारले कञ्जुस्याँइ गर्न नहुने बताए ।

साथै, अहिले मेडिकल विश्वविद्यालय र कलेजहरु खुलेपनि अनुगमन हुन नसकेको बताए । उनले कतिपय कुराहरुमा मेडिकल क्षेत्रमा अनुगमन गर्ने जनशक्ति नै विश्वविद्यालयसँग नरहेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्