Logo

बेचन र प्रतिकलाई पक्राउ गर्ने डीआईजीको सरूवाबारे रविको प्रतिक्रियाः मलाई नयाँ लागेको छैन, यो ट्रेलरमात्रै हो



काठमाडौं, १३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले डीआइजी डा. मनोज केसीको सरुवा आफूलाई कुनै नयाँ नलागेको प्रतिक्रिया दिएका छन् । आज संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यो वर्तमान सरकारको अकर्मण्यताको ट्रेलरमात्रै भएको बताए । उनले पूर्ण तस्वीर आउन बाँकी नै रहेको दाबी गरे ।

‘मैले त आश गरेको चिज हो । मलाई नयाँ लागेकै छैन । ठूला पार्टी एक ठाउँमा उभिएपछि यही हुन्छ भनेर हामीले भन्न खोजेका थियौं । सामान्य विषयमा अर्को ठूलो पार्टी प्रतिपक्षमा हुँदा कत्रो ठूलो हंगामा भएको थियो नि त । मलाई केही समय धैर्य गर्न दिनुस्, हेर्दै गर्नुस् । यो ट्रेलर हो । पिक्चर बाँकी नै छ,’– लामिछानेले भने ।

गृहमन्त्रालयले डिआइजी केसीलाई आकस्मिक रुपमा सरुवा गरेको थियो । केसी उनै प्रहरी अधिकृत हुन, जसले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्दामा संलग्न बेचन झा र पूर्वगृहमन्त्री एवम् एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का छोरा प्रतीकलाई पक्राउ गरेका थिए । झा र थापा पक्राउपछि नेपाली राजनीति तरंगित बनेको थियो ।

केसीको सरुवा दुई महिनापनि नपुगी भएको छ । उनलाई विशेष ब्युरोमा खटाएको दुई महिना नपुग्दै अहिले गृहमन्त्रालयले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सुरुवा गरेको छ । केसीको ठाउँमा डिआइजी राजन अधिकारीलाई ल्याईएको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्