Logo

कांग्रेसले मन्त्री छान्न नसक्दा कोशीमा आजपनि सरकार विस्तार नहुने



काठमाडौं,१४ साउन । हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा सामेल हुने निर्णय गरेको एक साता हुन लाग्दा पनि मन्त्रीको नाम टुंग्याउन नसक्दा आज पनि कोशी प्रदेश सरकारले पूर्णता पाउने सम्भावना टरेको छ ।

सत्ता साझेदार दुई दलबीच भएको सहमति अनुसार कोशीमा कांग्रेसले ४ मन्त्री र २ रजना राज्यमन्त्री पाउनेछ ।

कांग्रेस स्रोतका अनुसार अनुसार ४ मध्ये दुई मन्त्री सभापति शेरबहादुर देउवा समूहबाट हुनेछन् । कृष्णप्रसाद सिटौला र डाक्टर शेखर कोइराला समूहबाट एकरएक जना मन्त्री हुनेछन् ।

२९ सांसद रहेको कांग्रेसको तीनवटा समूहमा आकांक्षीको लर्को छ । आकांक्षी धेरै हुँदा शीर्ष नेतालाई पनि नाम टुङ्गो लगाउन सकस परेको नेताहरु बताउँछन् ।

शनिबार कांग्रेस एमालेबीच सहमति हुँदा आज सरकार विस्तार गर्ने तयारी थियो । तर, कांग्रेसले नाम नदिंदा आज सरकार विस्तारको सम्भावना न्यून छ । प्रदेशमा नौं मन्त्रालय छन्, ४ मन्त्रालय मुख्यमन्त्रीले आफैसँग राखेका छन् । चार मन्त्रालयसहित दुई राज्यमन्त्री कांग्रेसले पाउनेछ ।

कोशी प्रदेशमा नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा समूहबाट प्रदीप सुनुवार, हिमाल कार्की, खगेन सिंह हाङ्गामलगायत सांसद मन्त्रीको आकांक्षी छन् ।

कृष्णप्रसाद सिटौला समूहबाट भीम पराजुली र भूपेन्द्र राई मन्त्रीको दौडमा छन् । पराजुली विराटनगर महानगरपालिकाको पूर्वमेयर हुन् । राई खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका पूर्वअध्यक्ष हुन् ।

डाक्टर शेखर कोइराला समूहबाट गोविन्द गिरी, मानबहादुर राई, समशेर राई, इन्दीरा थापालगायत मन्त्रीको आकाक्षी छन् । कोइराला समूहबाट मानबहादुरलाई मन्त्री बनाउन शुनिल शर्माले पनि दबाब बढाइरहेका छन् ।

प्रदेशमा नेपाली कांग्रेले भौतिक पूर्वाधार, स्वास्थ्य र पर्यटन वन तथा वातावरण मन्त्रालय पाउने टुङ्गो लागिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्