Logo

प्रधानमन्त्री ओलीको निर्देशनः कमिशन र भ्रष्टाचारको गन्ध पाएँभने राम्रो हुँदैन



काठमाडौं, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो सबै मन्त्रालयका सचिवहरुसँग कार्यप्रगति र भावी कार्ययोजनाबारे जानकारी लिएका थिए । प्रधानमन्त्री ओलीलाई सचिवहरुले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजन, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे जानकारी गराएका थिए ।

बैठकमा उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरु, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो । विहान ११ः३० बजे सुरु भएको बैठक साँझ ५ः३० बजेसम्म चलेको थियो । बैठकपछि प्रधानमन्त्री ओलीले भोलि (मंगलबार) विशेष निर्देशन दिने भनिएको छ ।

नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले प्रधानमन्त्री ओलीले हिजोको बैठकमा मन्त्रालयमा कमिशन र भ्रष्टचारको गन्ध आएमा राम्रो नहुने भनी सचेत गराएको बताए । उनले प्रधानमन्त्री ओली संसदमा पनि भ्रष्टाचारको विरुद्धमा दह्रो र दृढतापूर्वक उभिएको उनले बताए ।

‘मैले सुनेअनुसार हिजो मन्त्रीहरु र सचिवहरुको संयुक्त बैठकमा पनि प्रधानमन्त्रीले कुनै पनि मन्त्रालयमा कमिशन र भ्रष्टाचारको गन्ध मैले सुन्नुपर्ने छैन, मैले सुनेँ भने राम्रो हुनेछैन भन्ने तहबाटै उहाँले निर्देशन गर्नुभएको मैले सुनेको छु । प्रधानमन्त्रीज्यूले सदनमा पनि भ्रष्टाचारको विषयमा, कमिशनको विषयमा अन्यन्त खरो र दृढतापूर्वक प्रस्तुति तपाईँ हामीले सुनेका छौं । मैले पनि भ्रष्टाचार गर्दिन, अरुलाई पनि भ्रष्टाचार गर्न दिन्न । त्यसका लागि सरकार अगाडि बढ्छ भन्ने कुरा प्रस्तुत भएको छ,’– नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै गैरेले भने ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले विगतमा विभिन्न रुपमा चर्चामा आएका, छानविनको प्रक्रिया सुरु भएका वा छानविनको प्रक्रिया सुरु गर्नुपर्ने सबै काण्डहरुको छानविन प्रक्रिया अगाडि बढाउने नेता गैरेको दाबी छ । प्रधानमन्त्री ओलीले सुशासन, जनताले सेवा लिने क्षेत्रदेखि लिएर विकास निर्माणका काम, भ्रष्टाचार र कमिशन अन्त्य हुने गरी काम थालेको नेता गैरेको दाबी छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्