Logo

सहकारी ठगेर विदेश भागेका जीबी राईसहित १८ जनालाई नेपाल झिकाउन गृहमन्त्रीलाई संसदीय छानबिन समितिको निर्देशन



काठमाडौं,१४ साउन । सहकारीमा भएको रकम दुरुपयोगबारे छानबिन गर्न गठित संसदीय छानबिन समितिले नेपालमा सहकारी ठगेर विदेश भागेकाहरुलाई तत्काल स्वदेश फर्काउन गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएको छ ।

आज बसेको समितिको बैठकले गृहमन्त्रीलाई सो निर्देशन दिएको हो । आजको बैठकमा मन्त्री लेखकसहित गृहसचिव एकनारायण अर्याल तथा नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवरपनि उपस्थित भएका थिए । पोखराको सूर्यदर्शसहितका सहकारी ठगेर भागेका जीबी राईसहित १८ जनाको सूची मन्त्री लेखकलाई समितिले दिएको छ ।

‘सहकारीको रकम अपचलनमा मुछिएका १८ जनालाई खोज्न, स्वदेश फर्काउन र छानबिन प्रक्रियामा सघाउन गृहमन्त्रीलाई समितिले निर्देशन दिएको छ’, बैठकपछि सभापति सूर्यबहादुर थापाले भने, ‘कारागार र थुनामा रहेका केही व्यक्तिका हकमा सोधपुछ गर्दैछौँ । सोधपुछका लागि जनशक्ति र समयको प्रबन्ध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।’

सूर्यदर्शनका ज्ञानबहादुर बम्जन, थानबहादुर राई, भुपेन्द्र राई, सानोपाइलाका तस्विरन खातुन र अश्रफ अली, सहारा तथा सुप्रिमका सुवास केसीलाई पनि झिकाउन भनिएको छ ।

यस्तै सुमेरु सहकारीको रकम अपचमलनमा संलग्न भएको आरो लागेका भरत महर्जन, उनको श्रीमती माजमाया, छोरा सचिन र छोरी सरलालाई पनि तत्काल नेपाल ल्याउन भनिएको छ ।

शिवशिखरका तेजबहादुर बम्जन तामाङ, इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली र उनकी श्रीमती छेदा, व्यवस्थापक दिपक पौडेल, शिवशिखर सहकारीका लीलानाथ गौतम, कान्तिपुर सेभिङका प्रेमध्वज लामा र मेघाड्रिमका महाशंकर रेग्मीलाई पनि स्वदेश फर्काउन र छानबिन समितिको दायरामा ल्याउन गृहमन्त्रीलाई निर्देशन दिएको छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले पीडित लगायत विभिन्न सरोकारवाला निकायहरूसँग छलफल गरिरहेको छ।

सरकारले तीन महिनाको समय दिएर ७ सदस्यीय छानबिन समिति बनाएको छ । समितिमा एमाले सांसद सूर्य थापा सभापति र अन्य ६ जना सदस्य छन् । समितिले भदौं १५ भित्र सरकारलाई आफ्नो प्रतिवेदन पेश गर्नुपर्नेछ ।



प्रतिक्रिया दिनुहोस्