Logo

नैतिक चरित्रमा प्रश्न उठेपछि नाम फिर्ता लिएका प्रधानले भने: दुष्प्रचारको माझमा काम गर्ने हौसला र इच्छा बाँकी रहेन



काठमाडौं,१४ साउन । निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित भएका कृष्णमान प्रधानले संसदीय सुनुवाइ समितिबाट आफ्नो नाम फिर्ता लिएका छन् । समितिले नाम अस्वीकृत गर्ने निश्चित भएपछि उनले आज निवेदन दिँदै नाम फिर्ता लिएका हुन् ।

नाम फिर्ता लिनका लागि दिईएको उनको निवेदनमा दुष्प्रचारको माझमा काम गर्ने हौसला र इच्छा बाँकी नरहेको दाबी गरिएको छ । संसदीय सुनवाई समितिका सभापतिलाई सम्बोधन गरेर पत्र पठाउँदै प्रधानले भनेका छन्, ‘मेरा उपर निजी पारिवारिक एवं सामाजिक जीवनमा समेत अतिरन्जित दुष्प्रचार गरी केही समूह सकृयतापूर्वक लागेर चालीसौं वर्षको मेरो गैरसरकारी संस्थाको योगदानको अवमूल्यन गरेकोबाट म दुखित भएको छु।’

प्रधानले आफूविरूद्ध संगठित रूपमा लागेपछि झुटहरू कति डरलाग्दो रूपमा प्रभावकारी हुँदा रहेछन् भन्ने अहिले महसुस गरेको उल्लेख गरेका छन् ।

“संवैधानिक परिषद्को सर्वसम्मत सिफारिसविरुद्धमा यसबीच सम्मानित काठमाडौं जिल्ला अदालतमा उजुरीकर्ताले आफ्नो दाबी पुष्टि गर्न सक्दिनँ, मैले निजउपर कुनै दर्व्यवहार गरेको छैन भनी स्वीकार गर्दै मिलापत्र गरेको तथ्यलाई अनदेखा गरी न्यायिक समाधानको सम्मान गर्नुभन्दाबाहिर मेराउपर निजी पारिवारिक एवं सामाजिक जीवनमा समेत अतिरन्जित दुष्प्रचार गरी केही समूह सक्रियतापूर्वक लागेर ४०औँ वर्षको मेरो गैरसरकारी संस्थाको योगदानको अवमूल्यन गरेकोबाट म दुखित भएको छु । संगठित रूपमा लागेपछि झुटहरू कति डरलाग्दो रूपमा प्रभावकारी हुँदा रहेछन् भन्ने अहिले मैले महसुुस गरेको छु,” उनले लेखेका छन् ।

प्रधानबाट यौन शोषणमा परेको भनेर संसदीय सुनवाइ समितिमा ४ वटा उजुरी परेका थिए । समितिका सदस्यहरू उनको नाम अनुमोदन गर्न नसकिने अडानमा रहेका थिए । अहिले प्रधान आफैंले आफ्नो नाम झिक्न आग्रह गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्