Logo

फेरि विवादमा परे स्वर्णिम, मुकुलको आरोप पुष्टि हुने अभिव्यक्ति भेटिएको सांसद पन्तको दाबी



काठमाडौं, १४ साउन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापतिसमेत रहेका सांसद डा. स्वर्णिम वाग्लेले राष्ट्रविरोधी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्र्दै नेता पन्तले रास्वपाले २०८० फागुन २१ गते आयोजना गरेको नीति मन्थन कार्यक्रममा डा. वाग्लेले राष्ट्रविरोधी अभिव्यक्ति दिएको दाबी गरेका हुन् । डा. वाग्लेले मोनरो डक्टिनबारे अभिव्यक्ति दिएर इतिहासमा कहिले पनि उपनिवेशमा नरहेको नेपालको अपमान गरेको उनको आरोप छ ।

सांसद पन्तले रास्वपाका निलम्बित महामन्त्री डा. मुकुल ढकालले स्वर्णिममाथि लगाएको आरोप सुरुमा आफूलाई विश्वास नलागेपनि गत फागुन २१ मा उनले दिएको अभिव्यक्तिले भने गम्भीर बनाएको बताए । ‘एक जना नेपाली सांसदको मुखबाट कतै चर्चामा नभएको र भारतले पनि कतै उल्लेख नगरेको साउथ एशियन मोनरो डक्टिनको कुरा निस्कनु र त्यसलाई नेपालले बुझिदिनुपर्ने कुरा निस्कनु अत्यन्त लज्जास्पद र खेदजनक छ । यस्तो कुराको आलोचना र भत्र्सना गरिनुपर्छ । उहाँहरुकै पार्टीका महामन्त्री मुकलजीले लगाएको आरोपहरु छ । मैले त्यसलाई पार्टीबाट निकालेकाले लगाएको आरोप होला भनेर गम्भीरतापूर्वक लिएको थिईनँ । तर, जब मैले यो भाषण सुनेँ, भाषणमै स्वर्णिमजी ‘भारत जाँदा भारतीय अधिकारीहरुसँग भेट भएको थियो । विभिन्न भएको थियो, भारतले कुरा बझिदिनुपर्छ । साउथ एसियन डक्टिन आयो । अब त्यसलाई बुझिदिनुपर्छ ।’ योभन्दा दुःखद् के हुनसक्छ ?’ उनले प्रश्न गरे ।

नेपाल अनादि कालदेखि स्वतन्त्र भूमिको रुपमा रहँदै आएको र लिच्छवी काल, किरात काल र मल्ल कालमा पनि स्वतन्त्र नै रहेकोसमेत उनले स्मरण गराए । सन् १९२३ मा मनरो डक्टिन आएको एक सय वर्षपछि चन्द्र शमशेरको पालामा नेपाल र ब्रिटेनबीच ‘नेपाल एउटा स्वतन्त्र र स्वाधीन देश हो’ भनी सन्धि भएको समेत उनको भनाइ छ । त्यसबेला आजको भारत, वर्मा, पाकिस्तान, बंगलादेश ब्रिटिस साम्राज्यको उपनिवेशमा रहेको उनले बताए । नेपाल कहिले पनि कुनै डक्टिनको मातहत र प्रभावमा नरहेको बताउँदै उनले अब पनि कुनै डक्टिनको प्रभावमा रहन नसक्ने चेतावनी दिए ।

वाग्लेले उक्त भाषणमा देशको राष्ट्रियता, स्वाभिमान, सार्वभौमता र स्वतन्त्रताको पक्षमा कुरा गर्नेलाई कच्चा राष्ट्रवादी भनेको भन्दै उनले आक्रोश व्यक्त गरे । वाग्लेले भारतलाई राइजिङ पावरको संज्ञा दिएको भन्दै उनले ‘चीन के हो ?’ भनी प्रश्न गरे । दुई छिमेकी देश चीन विश्वको दोस्रो ठूलो अर्थशक्ति र भारत पाँचौं अर्थशक्तिको रुपमा रहेको कुरा विर्सन नहुने उनले बताए । नेपालले कुनै पनि देशको डक्टिनलाई स्वीकार नगर्ने बताउँदै उनले स्वाधीन परराष्ट्र नीतिलाई अगाडि बढाउन पर्ने बताए ।

वाग्लेको उक्त अभिव्यक्तिविरुद्ध आफूले छानविन आयोग नै माग नगरेपनि संसद्ले अध्यायन गर्नुपर्ने बताए । वाग्लेले नेपाललाई अहित हुने अभिव्यक्ति दिएको उनको दाबी छ । नेपालको छिमेकी मुलुकहरु भारत र चीनलाई सुपर पावस शक्तिको संज्ञा दिँदै सांसद पन्तले नेपाल दुवै पक्षमा नलागेर आफ्नो हितमा लाग्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्