Logo

सरकार प्रदेश सभा छलेर भागेपछि सुदूरपश्चिममा विपक्षी सांसदले गरे टर्च बालेर खोजी



काठमाडौं,१४ साउन । सुदूरपश्चिम प्रदेशमा प्रतिपक्ष दलहरूले दिउँसै बत्ती बालेर सरकारको खोजी गरेका छन् ।

आज २ बजेको लागि प्रदेश सभा बैठक आह्वान गरिएको थियो । तर, सरकारको तर्फबाट कुनै पनि मन्त्री उपस्थित नभएपछि आज बैठक नै नबसी स्थगित भएको छ ।

विशेष अधिवेशनको तेस्रो बैठकमा सरकार पक्ष सहभागी नभएपछि प्रतिपक्षी दलले सांकेतिक विरोध जनाएका छन् ।

मन्त्रीको अनुपस्थितिमा बैठक चल्न नसक्ने भन्दै सभामुख भीमबहादुर भण्डारीले अनिश्चितकाललाई बैठक स्थगित गरेपछि प्रतिपक्षी दल कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले प्रदेश सभा भवन अगाडि टर्च बालेर सरकारको खोजी गरेका हुन् ।

विशेष अधिवेशनको पहिलो र दोस्रो बैठकमा कृषि मन्त्री टीका थापा उपस्थित भएर बैठक सञ्चालन भएको थियो। बैठकमा सहभागी नहुने मुख्यमन्त्री सोडारीको रणनीतिविपरित बैठकमा सहभागी भएपनि आइतबार कृषि मन्त्री थापा बर्खास्तमा परिन्।

संसद छल्ने सरकारको विरोधमा धनगढीस्थित प्रदेश सभा भवनको मूल प्रवेश द्वारमा नेकपा एमाले, नेपाली कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले टर्च बालेर सरकारको खोजी गरेका हुन्।

संसद छलेर गैरजिम्मेवार व्यवहार प्रदर्शन गरेको विरोधमा प्रतिकात्मक स्वरुप टर्च बालेर सरकार खोजी गरिएको नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बताए।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक विक्रम धामी, एमाले दल नेता रावल र नाउपाका रामेश्वर चौधरी नेतृत्वमा विरोध प्रदर्शन गरिएको हो।

२० असारमा एमालेले समर्थन फिर्ता दिएपछि सुदूरपश्चिम सरकार अल्पमतमा परेका छ । तर, मुख्यमन्त्री सोडारीले अहिलेसम्म विश्वासको मत लिने मिति निर्धारण गरेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्