Logo

पशुपतिमा जारी कोटीहोम महायज्ञमा नेता, सञ्चारकर्मीदेखि कलाकारसम्म सहभागी



काठमाडौं, १४ साउन । पशुपति क्षेत्र, (वनकाली) हंसमण्डप, काठमाडौंमा कोटीहोम नेपाल माहात्म्य तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ जारी रहेको छ । मानव सेवा फाउण्डेसन, नेपाललगायतका संस्थाद्वारा आयोजना गरिएको कोटीहोम महात्म्य तथा महायज्ञ गत साउन १ गतेबाट सुरु भएको थियो । महायज्ञ आगामी साउन ३२ गतेसम्म जारी रहने छ ।

कोटीहोम महायज्ञमा आज नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल सहभागी भएका छन् । उनले सो कार्यक्रममा संक्षिप्त सम्बोधनसमेत गरेका थिए । कोटीहोम महायज्ञमा राजनीतिक दलका शीर्ष नेतादेखि पत्रकार र कलाकारहरुको समेत बाक्लो उपस्थिति रहँदै आएको छ ।

अनाथ तथा आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकाहरुलाई निःशुल्क रुपमा गास, वास, कपास, स्वास्थ्य र शिक्षा प्रदान गर्दै आइरहेको नेपालकै नमुना मामाघर अनाथालय आश्रम, ललितपुर र बेसहारा, पिडित, दुखी, गरिव र आधारभूत आवश्यकताबाट वञ्चित ज्येष्ठ नागरिकहरुलाई निःशुल्क रुपमा गास, वास, कपास र स्वास्थ्य प्रदान गर्दै आइरहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणसँगै राष्ट्र शान्ति, विश्व कल्याण एवं गौरक्षार्थ महायज्ञ आयोजना गरिएको बताइएको छ ।

कोटीहोम महायज्ञमा सु–प्रसिद्ध कथा वाचिका राधिका दासी, अन्तर्राष्ट्रीय कथा प्रवक्ता देवी प्रतिभा, पण्डित दीनवन्धु पोखरेल, श्रीमद् देवी भागवत वाचिका डा.कान्ता भट्टराई र देवी चन्द्रकला सखीबाट कथा वाचन भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्