Logo

निर्वाचन आयोगको आयुक्तमा प्रधानको नाम सर्वसम्मतिले अस्वीकृत



काठमाडौं, १४ साउन । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानको नाम अस्वीकृत गरेको छ। आज (सोमबार) बसेको समितिको बैठकमा उनको नाम सर्वसम्मतिले अस्वीकृत गरिएको हो । बैठक बस्नुअघि नै प्रस्तावित आयुक्त प्रधानले उम्मेदवारी कायम राख्न नचाहेको भनी निवेदन दिएका थिए । उनीविरुद्ध संसदीय सुनुवाइ समितिमा चार वटा उजुरी प्राप्त भएको थियो । ती उजुरीमध्ये प्रधानले यौन शोषण गरेको आरोपसहितको उजुरीसमेत परेको थियो । यौन शोषणको आरोपमा अदालतमा जाहेरी दर्ता भएको र पछि उक्त मुद्दा मिलापत्रबाट टुङ्गिएको पुष्टि भएपछि सांसदहरुले उनको नैतिक चरित्रमाथि प्रश्न उठाएका थिए ।

‘कृष्णमान प्रधानलाई निर्वाचन आयुक्त पदमा प्रस्तावित गरी संसदीय सुनुवाइको लागि नाम प्रस्ताव भएकोमा समितिबाट सुनुवाइ गरी प्रतावित पदका लागि निर्णयमा पुग्नुअगावै मिति २०८१ साउन १४ मा प्रस्तावित व्यक्ति कृष्णमान प्रधानले सुनुवाइ समितिका सभापतिलाई सम्बोधन गरी ‘निर्वाचन अयुक्त पदमा नियुक्तिको लागि मेरो उम्मेदवारी कायम राख्न नचाहेकोले सम्मानित समिति समक्ष जानकारीको लागि अनुरोध गर्दै सो अनुसार व्यवस्था हुन अनुरोध गर्दछु’ भन्ने व्यहोराको निवेदन पेश गरी समितिका सचिवसमक्ष उपस्थित भई सो निवेदन सनाखतसमेत गरिदिनु भएको हुँदा उक्त पदमा निजको नियुक्ति सर्वसम्मतबाट अस्वीकृत गर्ने निर्णय गरियो,’– बैठकको निर्णय सुनाउँदै पशुपति शमशेर जबराले भने ।



प्रतिक्रिया दिनुहोस्