Logo

माओवादी पदाधिकारी बैठकः नेताहरुले धारणा राख्ने क्रम सकियो, प्रचण्डले भोलि जवाफ दिने



काठमाडौँ, १४ साउन । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा नेताहरुले आफ्नो धारणा राख्ने क्रम सकिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकमा पदाधिकारीमा रहेका नेताहरुले आफ्नो धारणा राख्ने क्रम सकिएको उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

उनका अनुसार बैठकमा अधिकांश नेताले पार्टी वर्गीय धरातलमा फर्कनुपर्ने, शुद्धीकरणलाई प्रभावकारी रुपमा कार्यान्वयन गरेर सङ्गठन निर्माण र जनपरिचालन गर्नुपर्नेमा जोड दिएका छन् ।

सङ्गठन निर्माणका लागि सरकारबाट बाहिरिएपछिको अवस्था सकारात्मक रहेको भन्दै नेताहरुले त्यसका लागि माथिबाटै पहल गर्नुपर्ने बताए । गत शुक्रबारदेखि सुरु भएको बैठकमा आजसम्म १८ जना नेताले आफ्नो धारणा राखेका छन् ।

नेताहरुले उठाएको प्रश्नमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि (मंगलबार) जवाफ दिने कार्यक्रम छ । पछिल्लो राजनीतिक अवस्था, पार्टीले खेल्नुपर्ने भूमिका एवम् सरकारमा रहेर गरिएका सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको सन्दर्भ लिएर जनतामा जानुपर्ने र सङ्गठन विस्तारलाई विशेष प्राथमिकतामा राखेर नेताहरुले धारणा राखेका थिए ।

नेताहरुको धारणालाई सश्लेषण गरेर अध्यक्ष दाहालले जवाफ दिएपछि थप छलफलका लागि स्थायी समितिको बैठक बोलाउने तयारी गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्