काठमाडौं,१५ साउन । सरकारले तीन प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गर्दै नयाँ प्रदेश प्रमुखको नाम सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले बागमतीका यादवचन्द्र शर्मासहित लुम्बिनीका अमिक शेरचन र कर्णालीका तिलक परियारलाई प्रदेश प्रमुखबाट हटाउने निर्णय गरेको हो ।
शेरचन र परियार नेकपा माओवादी केन्द्रको कोटाबाट नियुक्त भएका थिए भने शर्मा नेकपा एकीकृत समाजवादीको कोटाबाट प्रदेश प्रमुख बनेका हुन् । उनीहरुको ठाउँमा डा दीपकप्रसाद देवकोटा,कृष्णबहादुर घर्तीमगर र यज्ञराज जोशीलाई सिफारिस गरेको छ । उनीहरु क्रमश बागमती, लुम्बिनी र कर्णालीको प्रदेश प्रमुख सिफारिस भएका हुन् । उनीहरु अब राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्त हुनेछन् ।
को हुन् देवकोटा, घर्ती र जोशी
बागमती प्रदेशको प्रमुखमा सिफारिस भएका दीपकप्रसाद देवकोटा नेकपा एमालेका नेता हुन् । अमृत बोहरा अध्यक्ष रहेको अनुशासन आयोगका सदस्यसमेत रहेका उनी एमालेका पूर्व केन्द्रीय सदस्य हुन् । लामो समयसम्म एमालेको सक्रिय राजनीतिमा संलग्न उनी एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अोलीनिकट हुन् ।
लुम्बिनीका घर्ती नेपाली कांग्रेस रोल्पाका पूर्व जिल्ला सभापति हुन् । सभापति शेरबहादुर देउवाका निकट पात्र मानिने उनी कांग्रेस विभाजन हुँदा देउवाको क्याम्पमा पुगेका थिए । १४ वर्ष जिल्लामा पार्टीको नेतृत्व गरेका उनी १४औं महाधिवेशनमा भने संस्थापन इतर समूहको पेलानमा परि वडामै प्रतिनिधि पराजित भएका थिए ।
२०१६ माघ १० गते रोल्पाको घर्तीगाउँमा जन्मिएका उनले २०३६ सालको विद्यार्थी आन्दोलनमा नेविसंघबाट राजनीति सुरु गरेका थिए । विभिन्न आन्दोलनमा जेल जीवन बिताएका घर्ती २०४७ मा पार्टीको जिल्ला समिति सदस्य हुँदै सचिव बनेका थिए । २०४९ मा साबिक घर्तीगाउँ विकास समितिको अध्यक्ष भएका थिए । तर जिविस सभापतिमा तत्कालीन संयुक्त जनमोर्चाका झक्कुप्रसाद सुवेदीसँग हारेका थिए । घर्तीले२०५० सालदेखि रोल्पाको लिवाङमा तुलसी इङ्लिस बोर्डिङ स्कुल चलाउँदै आएका छन् ।
घर्ती नेपाली कांग्रेस विभाजन भएर देउवाले बनाएको कांग्रेस प्रजातान्त्रिकको जिल्ला सभापति भएका थिए । घर्ती २०४८ देखि २०७२ सम्म महासमिति सदस्य रहेका थिए । २०५९ देखि प्रजातान्त्रिक कांग्रेसमा रहेका थिए । उनी २०५९ मा आमन्त्रित केन्द्रीय सदस्य र पछि केन्द्रीय सल्लाहकार बनेका थिए ।
प्रदेश सभामा हारेका जोशी
कर्णालीको प्रदेश प्रमुखमा सिफारिस भएका जोशी कञ्चनपुरबाट प्रदेश सभा निर्वाचन हारेका व्यक्ति हुन् । ०७४ सालको प्रदेश सभा निर्वाचनमा कञ्चनपुर ३ क मा एमालेका प्रकाश रावल (हाल नेकपा एस) सँग पराजित भएका थिए । सभापति शेरबहादुर देउवा निकट मानिने उनी १४औं महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।