Logo

ओलीको नियुक्ति खारेज गरेर सर्वोच्चले देउवालाई प्रधानमन्त्री बनाउनेमा माओवादी ढुक्क



काठमाडौं,१५ साउन । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति गैरसंवैधानिक रहेको जिकिर गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद दाहालले सर्वोच्च अदालतले ओलीको नियुक्ति खारेज गरेर संविधानको धारा ७६ को उपधारा ३ अनुसार ठूलो दलको नेताको रुपमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेमा आफूहरु विश्वस्त रहेको बताए ।

उनले भने,‘अस्वाभाविक, अपवित्र र बदनियतपूर्ण गठबन्धनको जगमा निर्माण भएको सरकारका प्रधानमन्त्रीले सङ्ख्यात्मक हिसाबले विश्वासको मत लिइसक्नुभएको छ । संविधानको धारा ७६ को २ अन्तर्गत बनेको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वतः धारा ७६ (३) सक्रिय भई प्रधानमन्त्री नियुक्त भएको विगतको नजिरलाई अस्वीकार गर्दै राष्ट्रपतिज्यूले गैरकानुनी प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । सो गैरकानुनी नियुक्तिको विषयमा सम्मानित सर्वोच्च अदालतमा मुद्दा परेको छ र त्यसको पेशी साउन ३० गते तोकिएको छ । मलाई विश्वास छ सर्वोच्च अदालतले गैरकानुनी नियुक्ति प्रक्रियालाई खारेज गर्नेछ र संविधान संवत् प्रधानमन्त्री नियुक्त गर्नेछ ।’

नेपाली कांग्रेससँगको समर्थनमा ओली संविधानको धारा ७६ को उपधारा २ अनुसार असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए । उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि स्वत उपधारा ३ मा जानुपर्ने माओवादीको माग थियो । तर, दुई दलबीच भएको सहमति अनुसार नै राष्ट्रपतिले अ‍ोलीलाई प्रधानमन्त्री नियुक्त गरेपछि सर्वोच्चमा रिट परेको थियो ।

अधिवक्ता दीपक अधिकारीसहितले दायर गरेको रिटमा साउन ६ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सो रिट संवैधानिक इजलासमा पठाउने आदेश दिएको छ । अर्को पेशी साउन ३० गतेलाई तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्