Logo

एमाले नेता बास्कोटाको प्रश्नः कुन चाहीँ गहुँत छर्किएर गठबन्धन पवित्र बन्छ ?



काठमाडौं, १५ साउन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले सरकार बनाउने सन्दर्भमा कुनै पनि राजनीतिक दलहरुले नैतिकता देखाउन नसकेको टिप्पणी गरेका छन् । आज (मंगलबार) प्रतिनिििध सभाको बैठकलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरु सरकार बनाउनका लागि कोही पनि एकअर्कासँग मिल्न बाँकी नरहेको बताए । अहिले प्रतिपक्षी दलहरुले कांग्रेस–एमाले गठबन्धन सरकारलाई अपवित्र भनिरहेको बताउँदै नेता बास्कोटाले यसलाई कुन गहुँत छर्किँदा पवित्र बन्छ त ? भन्दै प्रश्न गरे ।

साथै, उनले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताले सत्ता चलाउने म्याण्डेड नदिएको अवसथामा पनि पर्खिने धैर्यता नराखेको बताए । उनले भने, ‘नयाँ गठबन्धन बन्यो । सुनियो– यो अपवित्र भया । कुन चाहीँ गहुँत छर्किएपछि पवित्र हुन्छ मैले बुझेको छैन । कहाँ कोसित मिल्न बाँकी छ र हामी पवित्रता र अपवित्रताको कुरा गर्छौं ? देशमा हुनुपर्ने के हो ? जनताको लागि हुनुपर्ने के हो ? त्यसतर्फ हाम्रो ध्यान गएन । यहाँ गीत, कविता व्यङ्ग्य केही कुराको पनि खाँचो छैन । उदितनारायण झाले गाएको गीत थियो– कोनी कसको पछ्यौरीमा अल्झिएँ, कसको चौबन्दीमा अल्झिएँ, लोभ्याउने मायाको जालमा परेँ भनेको थियो । यहाँ पनि के भयो भने सत्ताको लोभमा किन परेको ? कसैले पनि यो नैतिकता देखाउनु भएन । मसित जनताले दिएको म्यान्डेट पुग्दैन । ३२ सिट छ, त्यसकारण मैले सत्ताको तालाचाबीको दाबी गर्नु स्वभाविक भएन भनेर सोच्नुभयो ? पर्खिने धैर्यता राख्नुभयो ?’

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै उनले अब कोही पनि नयाँ पुरानो नरहेको टिप्पाणी गरे । दुई/दुई पटक सत्तामा गएपछि रास्वपाले नयाँ भनेर भ्रम फैलाउन नहुने उनको धारणा छ । ‘नयाँ साथीहरुले ठीकलाई ठीक भन्छौं, बेठीकलाई बेठीक भन्छौं, उहाँहरुले भन्दै आउनु भएको छ । उहाँहरु के को पासोमा पर्नुभयो त ? ढोक्सो थाप्यो भनेको छ, माझीको के–को दोष र माछी जान हुँदैन नि त ढोक्सातिर । हामफालेर आखिरी सत्ताको पासोमा त पर्नुभयो ।’ उनले भने, ‘नयाँ को रह्यो, पुरानो को रह्यो ? दुई/दुई पल्ट सत्तामा सहभागिता रह्यो । यो संसद्को गणित यस्तो रहिरहँदा, हाम्रो निर्वाचन प्रणाली यस्तो रहिरहँदा स्वभाविक रुपमा यी दिनहरु दोहोरिराख्छन् । पवित्रता कुन चाहीँ धार्मिक ग्रन्थ समातेर खोज्ने ? त्यो मैले बुझ्न सकिँन ।’



प्रतिक्रिया दिनुहोस्