काठमाडौं, १५ साउन । नेकपा (माओवादी केन्द्र) भित्र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उत्तराधिकारीको खोजी सुरु भएको छ । गत शुक्रबार सुरु भएर आज (मंगलबार) टुङ्गिएको पार्टी पदाधिकारी बैठकमा उत्तराधिकारीहरु तयार पार्ने, त्यसको नीति, पद्धति, संगठनात्मक ढाँचा, विधिहरुको बारेमा छलफल भएको पार्टी प्रवक्ता अग्नि सापकोटाले बताए ।
बैठकमा प्रचण्डले राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति, पार्टीभित्रको समस्यालगायतका विषयमा पनि आफ्नो धारणा राखेको सापकोटाले बताए । प्रचण्डले आफूले एक पटक जनताको कुरा सुन्न देशभरी जाने इच्छा व्यक्त गरेको पनि उनले बताए । ‘जनतासितको सम्बन्धको कडी अलि टुटेको छ । जनतासित एकाकार हुनका लागि, जनताको सुख, दुःख बूझ्नका लागि, उनीहरुका कुरा सुन्नका लागि म एकपल्ट देशैभरी जाने मेरो इच्छा छ । त्यो केन्द्रीय समितिको बैठकपछि हुन्छ भनेर भन्नुभएको छ,’– प्रचण्डको भनाइ उद्धृत गर्दै सापकोटाले भने ।
त्यस्तै, माओवादीले आगामी निर्वाचनमा एक्लै चुनाव लड्नुपर्ने निश्कर्ष निकालेको छ । गठबन्धन गरेर निर्वाचन लड्दा विचार, राजनीतिक कार्यदिशा र दृष्टिकोणहरु ओझेलमा परेको बैठकको निश्कर्ष छ । आजको बैठकमा प्रचण्डले पदाधिकारीहरुको पश्नको जवाफ दिएका थिए ।
‘आगामी निर्वाचनमा एक्लै चुनाव लड्नेगरी तयारी गर्ने, जसले गर्दा हाम्रा विचार, राजनीतिक कार्यदिशा र दृष्टिकोणहरु जनतामा सोझै पुग्न सकोस् । पहिलाका अनुभवले हामीलाई के भयो भने गठबन्धन गर्दाखेरी कहीँ न कहीँ अरु पार्टीको पनि सन्तुलन मिलाउन पर्ने भएकाले हाम्रो विचार, सिद्धान्त, राजनीतिक कार्यदिशा, हाम्रो दृष्टिकोण लाने हामीलाई मौका मिलेको थिएन । हामीले के निश्कर्ष निकालेका छौं त भन्दाखेरी यो जनतामा जाने सुर्वण अवसर पनि हो,’– प्रवक्ता सापकोटाले भने ।
साथै, गठबन्धन गरेर निर्वाचनमा जाँदा वर्गसितको सम्बन्ध खुकुलो र टुटेको भएको र जनताको सुख, दुःखमा नजोडिएको जस्तो भएको प्रवक्ता सापकोटाले बताए । उनले पदाधिकारी बैठकमा लामो समीक्षासहित जनतामा जाने निर्णय गरिएको बताए । माओवादी केन्द्रले आगामी साउनको २५ गते स्थायी समिति बैठक बोलाएको छ ।
प्रवक्ता सापकोटाले पदाधिकारी बैठकमा प्रतिपक्षीको भूमिकालाई सशक्त रुपले निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने, गुणात्मक ढंगले देश र जनताका जल्दाबल्दा समस्याहरु र अघिल्लो सरकारले सुरु गरेको सामाजिक न्यायसहितको सुशान, समृद्धिका सवाललाई अझ खोज अनुसन्धानसहित गम्भीरतापूर्वक उठाउने निर्णय भएको बताए ।