Logo

सिमलताल बस दुर्घटना: भारतीय टोलीबाट पार नलागेपछि चीनसँग गुहार माग्दै सरकार



काठमाडौं,१६ साउन । सरकारले गत असार २८ गते आएको बाढीका कारण नारायणघाट मुग्लिन सडक अन्तर्गत चितवनको सिमलतालमा पहिरोमा पुरिएर हराएका २ वटा बस र त्यसमा सवार यात्रुको खोजिका लागि मित्र राष्ट्र चीनलाई अनुरोध गर्ने भएको छ ।

बुधबार बसेको राज्य व्यवस्था समितिको बैठकमा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बस र बेपत्ता यात्रुको खोजीमा सघाउन चीन सरकारलाई अनुरोध गर्ने तयारी भइरहेको बताएका छन् ।

‘सिमलताल दुर्घटनामा बेपत्ता भएकामध्ये २४ जनाको शव फेला परेको छ । तीमध्ये पाँच जनाको सनाखत हुन बाँकी छ,’ बैठकमा गृहसचिव अर्यालले भने, ‘३५ जना अझै बेपत्ता छन् । उनीहरूको खोजीका लागि चीन सरकारलाई अनुरोध गर्ने तयारी गरेका छौँ’ ।

गृहसचिव अर्यालले २ सय ५० किलोमिटरभन्दा बढी चल्ने सवारीमा दुई जना चालक अनिवार्य गर्ने तयारी गरिएको बताए । उनका अनुसार यात्रा गर्दा यात्रुको टिकट अनिवार्य गर्न पनि यातायात व्यवसायीलाई भनिएको छ ।

यसअघि भारतीय टोलीले दुर्घटनास्थल आएर खोजी गरेको थियो । तर, बस खोजी गर्ने क्रममा गत शनिबार १९ किलोको चुम्बक र लाइफ ब्वाई ट्युब त्रिशूली नदीले बगाएपछि भारतीय टोली फर्किएको थियो ।

गत २८ असारमा वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००६ख १५१६ नम्बरको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ख ००१ नम्बरको बस सिमलताल आएको पहिरोमा परेर त्रिशूली खसेका थिए । बसमा सवार ६५ जनामध्ये तीन जना हामफालेर बाँच्न सफल भएका थिए भने ६२ जना बेपत्ता भएका थिए । हालसम्म २४ जनाको शव फेला परेपनि अन्यको अवस्था अझै अज्ञात छ ।



प्रतिक्रिया दिनुहोस्