Logo

पदाधिकारी र केन्द्रीय कमिटी छान्न माधवलाई सकस परेपछि एकीकृत समाजवादीले बनायो कार्यदल



काठमाडौं,१६ साउन । नेकपा एकीकृत समाजवादीले आज पनि केन्द्रीय कमिटी र पदाधिकारी चयन गर्न सकेन् । आज बसेको पार्टीको बैठकमा पदाधिकारी चयन गर्न सकस परेपछि कार्यदल बनाउने निर्णय भएको छ ।

बुधबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल रहेको कार्यदल गठन गरेको हो । कार्यदलले केन्द्रीय कमिटी र केन्द्रीय आयोगको संख्या, नाम र मनोनयनबारे गृहकार्य गर्ने प्रचार विभागले जनाएको छ ।

केन्दीय कमिटीको आगामी बैठक साउन १८ गतेका लागि डाकिएको छ । सोही बैठकले टुंगो लगाउने बताइएको छ । पार्टीको महाधिवेशनले २९९ मध्ये ९३ सदस्य मात्रै चयन गरेको थियो । बाँकी रहेको २०६ सदस्य चयन गर्न एकीकृत समाजवादीमा सकस छ ।

आकांक्षी धेरै हुँदा छान्न समस्या भएको नेताहरू बताउँछन् । बाँकी रहेका १८ पदाधिकारी छनोट गर्न केन्द्रीय कमिटीले पूर्णता नपाउँदा रोकिएको छ । महाधिवेशनले तीन पदाधिकारी मात्रै छानेको थियो ।

समावेशिताको अनुपात र संख्याअन्तर्गत दलित, आदिवासी जनजाति र खुला समूह निर्धारण गरी केन्द्रीय कमिटीलाई पूर्णता दिने पार्टीको तयारी छ । गत महिना महाधिवेशन गरेको एसले २ जना पदाधिकारीमात्र चयन गरेको थियो । भने केन्द्रीय कमिटी पनि ९३ जनामात्र चयन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्