Logo

राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा सिन्दुर, टिका, राष्ट्रियता झल्कने टोपीलगातका पहिरन लगाउन पाइने



काठमाडौं, १७ साउन । राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा सिन्दुर, टिका, राष्ट्रियता झल्कने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन पाइने भएको छ । सो विषयमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सबै जिल्ला प्रशासन कार्यालयहरु, इलाका प्रशासन कार्यालय, राष्ट्रिय परिचयपत्र ईकाईलाई परिपत्र जारी गरेको हो ।

‘राष्ट्रिय परिचयपत्रमा विवरण दर्ताका लागि सेवाग्राहीको फोटो खिँच्दा स्पष्ट मुखाकृति र दुवै कान देखिने गरी फोटो खिँच्नुपर्नेछ । फोटो खिच्दा सिन्दुर, टिका, राष्ट्रियता झल्कने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा पर्ने छैन,’– परिपत्रमा भनिएको छ ।

त्यस्तै, राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता गर्दा व्यक्तिले पेश गरेको नागरिकताको प्रमाणपत्र बाहेकको अन्य कागजातहरू राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा स्क्यान गरी प्रविष्ट गर्ने प्रयोजनको लागि सम्भव भएसम्म सक्कल वा छायाँप्रतिमा सम्बन्धित व्यक्तिले सक्कल बमोजिम नक्कल ठीक छ भनी प्रमाणित गरेको आधारमा दर्ता प्रक्रिया अगाडि बढाउन पनि भनिएको छ ।

यसअघि फोटो खिच्दा सिन्दुर, टिका, राष्ट्रियता झल्कने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाएर फोटो खिच्न निषेध गरिएको थियो । उक्त कार्यको तीब्र आलोचना भएपछि अन्ततः विभागले मतहतका निकायलाई परिपत्र गरी प्रष्ट पारेको हो ।



प्रतिक्रिया दिनुहोस्