Logo

मधेश र लुम्बिनी प्रकरण दोहोर्‍याउँदै सुदूरपश्चिमको मुख्यमन्त्री बन्न देउवाको दौडधुप



काठमाडौं,१७ साउन । सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनको सरगर्मी बढेसँगै मुख्यमन्त्रीको आकांक्षीहरुले दौडधुप थालेका छन् । अल्पमतमा परेका मुख्यमन्त्री दीर्घ सोडारी भोलि पदमुक्त हुने निश्चित भएपछि नयाँ मुख्यमन्त्रीका लागि आकांक्षीले दौडधुप थालेका हुन् ।

सत्ता साझेदार दलबीच भएको सहमति अनुसार सुदूरपश्चिमको मुख्यमन्त्री नेपाली कांग्रेसले पाउने छ । भोलि नै सोडारी पदमुक्त भएर नयाँ सरकार गठनको आाह्वान हुने भएकाले आकांक्षीले दौडधुप थालेका हुन् ।

कांग्रेसबाट मुख्यमन्त्रीका पहिलो दावेदार कमलबहादुर शाह हुन् । उनी गत वर्ष केही समय सुदूरको मुख्यमन्त्री बनेका थिए । केन्द्रमा संस्थापन इतर समूहबाट १४औं महाधिवेशनमा केन्द्रीय सदस्य लडेर हारेका उनी पार्टी नेता प्रकाशमान सिंहनिकट मानिन्छन् । संसदीय दलको नेता पनि भएको हुँदा स्वभाविक रुपमा आफूनै मुख्यमन्त्री हुने बुझाइमा छन् । यद्यपी उनी मुख्यमन्त्रीका एकल दावेदार भने होइनन् ।

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका अर्का सशक्त दाबेदार हुन् प्रकाश देउवा। प्रकाश कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजा हुन्। त्यसैले उनलाई सम्भावित मुख्यमन्त्रीका रूपमा हेरिएको छ। कैलाली क्षेत्र नम्बर ५(२) बाट विजयी प्रकाश प्रदेश सरकारमा भौतिक पूर्वाधार मन्त्री पनि बनेका थिए। त्यस बखत राम्रो काम गरेको दाबीसहित उनी एकपटक प्रदेशको नेतृत्व गर्न कस्सिएका हुन्।

यसअघि आम निर्वाचनपछि उनले कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेतामा दाबी गरेका थिए। संविधानसभा सदस्य बहादुरसिंह थापा पनि मुख्यमन्त्रीको दौडमा छन्। उनी कञ्चनपुर क्षेत्र नम्बर २(२) बाट निर्वाचित प्रदेश सांसद हुन्। थापा कांग्रेसको संस्थापन पक्षकै केन्द्रीय सदस्य एनपी साउदनिकट मानिन्छन्।

पार्टी सभापति शेरबहादुर देउवाका सहोदर भतिजा रहेका उनी मुख्यमन्त्री बन्ने प्रयत्नमा छन् । त्यसका लागि उनी केही दिनदेखि काठमाडौंमा अड्डा जमाएर बसेका छन् । उनी मुख्यमन्त्रीको सुनिश्चितता नभइ कैलाली नफर्किने तयारीमा रहेको स्रोतले जनाएको छ ।

प्रकाशमान केन्द्रमा उपप्रधानमन्त्री बन्दा साउद हाल मन्त्रिपरिषद्मा छैनन् । आफू मन्त्रिपरिषद्मा नहुँदा थापाले सुदूरमा नेतृत्व पाउनुपर्ने साउदले बताउँदै आएका छन् । उनले यसबारेमा नेतृत्वसमक्ष गम्भीर ढंगले कुरा राखेको स्रोतले बताएको छ । शाह,थापा र देउवाका अतिरिक्त दिवानसिंह विष्ट, शिवराज भट्ट र संसदीय दलका प्रमुख सचेतक विक्रम धामीले पनि दाबी गरिरहेका छन् । यद्यपी अन्तिम भिडन्त शाह र देउवाबीच नै हुने देखिन्छ ।

त्यसो,त संसदीय दलको नेता मुख्यमन्त्री हुने सामान्य अभ्यास रहँदै आएको छ । संविधानको धारा १६८ को उपधारा ३ अनुसार सरकार बन्दा संसदीय दलको नेता अनिवार्य भएपनि सोही धाराको उपधारा २ अनुसारको मिलिजुली सरकार बनाउन भने दलको नेता नभएपनि हुने अभ्यास यसअघिनै भईसकेको छ । मधेश प्रदेशमा गत महिना जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र लुम्बिनीमा एमाले संसदीय दलका नेता लिला गिरीलाई पन्छाउँदै क्रमस शतिषकुमार सिंह र चेतनारायण आचार्य मुख्यमन्त्री बनेका थिए ।

मधेश र लुम्बिनीलाई पछ्याउँदै शुक्रबार सुदूरमा पनि शाहलाई पन्छाउँदै देउवा मुख्यमन्त्री बनेमा आश्चर्य नहुने कांग्रेस नेताहरु बताउँछन् ।



प्रतिक्रिया दिनुहोस्