Logo

काठमाडौंमा एमालेको साख जोगाउने कृष्णगोपालमाथि ओलीको अर्को अन्याय



काठमाडौं,१८ साउन । सत्तारुढ दल नेकपा (एमाले) ले रिक्त उपाध्यक्षमा गुरु बराललाई मनोनयन गरेको छ । बिहीबार बसेको पार्टीको सचिवालय बैठकले सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको सो पदमा बराललाई नियुक्त गरेको हो । बराल एमालेका पूराना नेता हुन् ।

बरालसँगै एमालेले लिलानाथ श्रेष्ठ र मुकुन्द न्यौपानेलाई स्थायी कमिटीमा बढुवा गर्ने निर्णय गरेको एमालेले जनाएको छ । न्यौपाने एकीकृत समाजवादी परित्याग गरेर एमालेमै फर्किएका नेता हुन् भने श्रेष्ठ मधेश प्रदेशबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

बिहीबारकै बैठकले १७ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गर्दा सातै प्रदेशमा इन्चार्जसमेत तोकेको छ । नेताहरुलाई भूगोलअनुकुलको जिम्मेवारी दिँदै इन्चार्ज तोकेको हो । एमालेले कोशीमा शेरधन राई, मधेशमा लिलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा रिकण गुरुङ, लुम्बिनीमा पद्या अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकेको छ । यसअघि इन्चार्ज रहेका योगेश भट्टराई, गोकर्ण विष्ट, छविवाल विश्वकर्मा र रघुवीर महासेठलाई फिर्ता बोलाईएको एमालेले जनाएको छ । इन्चार्जबाट फिर्ता भएका भट्टराई संसदीय विभाग प्रमुख र महासेठले विदेश विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । यसअघि विदेश विभाग प्रमुखमा रहेका भट्टराई बागमतीमा इन्चार्ज बनेका छन् ।

बिहीबारको बैठकमा एमालेले प्रदेशमा इनचार्ज तोक्दा कृष्णगोपाल श्रेष्ठलाई बागमतीको इन्चार्ज बनाउनुपर्ने प्रस्ताव गएपनि नाममा टिपेस्ट लगाएको भन्दै असन्तुष्टि देखिएको छ । एमाले उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डेले श्रेष्ठलाई इन्चार्ज बनाउनुपर्ने प्रस्ताव लगेका थिए । यद्यपी पाण्डे आफैँ पनि इन्चार्ज हुन चाहेका थिए । तर, उनले आफू नभए श्रेष्ठनै हुनुपर्ने अडान राखेको स्रोत बताउँछ ।

परराष्ट्र मामिला विभागको प्रमुखको रूपमा राजन भट्टराई प्रस्तावित भएपछि श्रेष्ठको नाम काटिएको एमालेका नेताहरु बताउँछन् । परराष्ट्र मामिला प्रमुख महासेठलाई बनाउनुपर्ने भएपछि श्रेष्ठको नाम प्रदेश इन्चार्जबाट काटियो। भट्टराई बागमती प्रदेश इन्चार्ज ल्याइए । पटक-पटक संसदीय निर्वाचन हारेका र लगातार राजकीय जिम्मेवारी (केपी ओली प्रधानमन्त्री हुँदा परराष्ट्र सल्लाहकार) पाइरहने नेता भट्टराई रोजाइमा पर्दा गत संसदीय निर्वाचनका सिंगो काठमाडौंबाट एकल जित दर्ता गरेका नेता श्रेष्ठ पाखा लागेका छन् । ०७९ को मंसिरमा भएको संसदीय निर्वाचनमा बागमती प्रदेशका ३२ मध्ये एमालेले ४ सीटमा मात्र प्रत्यक्ष चुनाव जितेको थियो । त्यसमा पनि १० सीट रहेको काठमाडौंमा एमालेबाट श्रेष्ठ एकल विजेता हुन् । पटक-पटक उपप्रधानमन्त्री बनेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलदेखि बागमतीको सभामुख भइसकेका सानु श्रेष्ठले समेत चुनाव हार्दा कृष्णगोपालले साख जोगाउँदै काठमाडौं ९ बाट चुनाव जितेका थिए ।

त्यसो,त श्रेष्ठको नाम काटिएको यो पहिलो पटक भने होइन् । दशौं राष्ट्रिय महाधिवेशन पछि श्रेष्ठले बागमतीको इन्चार्ज पद पाए संगठन बलियो बनाउन भूमिका खेल्ने बताएका थिए । तर त्यसबेला अध्यक्ष केपी शर्मा ओलीले टोपबहादुर रायमाझीलाई बागमतीको इन्चार्ज दिए । पार्टी सचिवहरुलाई प्रदेश इन्चार्ज दिने मापदण्ड बनेको थियो । त्यसपछि गत वर्ष असारमा नयाँ कार्यविभाजन हुँदा उपाध्यक्षहरुबाट नभए आफूले प्रदेश इन्चार्जको जिम्मेवारी पाउनुपर्ने श्रेष्ठको माग थियो । तर ओलीले आफू निकट बराललाई बागमती इन्चार्जको जिम्मा दिँदा श्रेष्ठको नाम काटियो ।

०७९ को संसदीय निर्वाचनपछि तीन पटक एमाले सरकारमा जाँदा हरेक पटक उनी मन्त्री बन्नेको सूचीमा पहिलो नम्बरमा परेको चर्चा हुनेगर्छ । तर, सदैव उनको नाम काटिन्छ । ०८० फागुन २१ मा दोस्रो पटक प्रचण्ड नेतृत्वको सरकारमा एमाले सहभागी हुँदा शिक्षामन्त्री बन्ने सम्भावित पात्रको पहिलो सूचीमा उनी थिए । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले श्रेष्ठलाई मन्त्री नबनाउनकै लागि शिक्षा मन्त्रालाय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिएको चर्चा हुने गरेको थियो ।

गत असार ३० गते ओली स्वयंको नेतृत्वमा नयाँ सरकार बन्दा शिक्षा मन्त्रीमा फेरि श्रेष्ठकै नाम चर्चामा आएको थियो । भए शिक्षा, नभए संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा उनको नाम टुंगो लागेको बताइएपनि अन्तिममा शिक्षामा विद्या भट्टराई र संघीयमा पर्साका राजकुमार गुप्ता गएपछि उनी रोकिए । बिहीबार बागमतीमा इन्चार्जका लागि रोक्ने राजन भट्टराईले नै ओली सरकारमा श्रेष्ठलाई रोकेको स्रोतको दाबी छ । शिक्षामन्त्री बनेकी विद्या भट्टराई राजन भट्टराईकी बहिनी (काकाकी छोरी) हुन् । इच्छा र रहर नहुँदा-नहुँदै पनि राजनकै जोडवलमा विद्या मन्त्री बनेको चर्चा हुँदै आएको छ ।

त्यसो, त ०७४ सालको निर्वाचनपछि बनेको ओली सरकारमा श्रेष्ठ लामो समय मन्त्री बनेका थिए । अ‍ोलीका अत्यन्तै निकट बनेर काम गरेको भन्दै प्रशांसा पनि हुने गरेको थियो । तर, पछिल्ला दिनमा श्रेष्ठप्रति अ‍ोली खासै सकारकात्मक नदेखिएका नेताहरु बताउँछन् । श्रेष्ठप्रति आफू सकारात्मक नरहेको सन्देश त ओलीले सार्वजनिक मञ्चबाटै दिएका थिए । केही समय अगाडि राजधानीमा आयोजित एक पार्टी कार्यक्रममा ओलीले कृष्णगोपाल श्रेष्ठलाई चिठ्ठा परेर जितेका टिप्पणी गरेका थिए ।

गत भदौं ११ गते काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कृष्णगोपालको जितले मात्र एमाले खुसी हुने अवस्था नभएको टिप्पणी गरेका थिए । ‘कृष्णगोपाल माननीय जित्नुभयो । त्यो जिताइ पनि चिठ्ठा परे जस्तो भयो’, ओलीको टिप्पणी थियो, ‘एमाले जस्तो पार्टीले ११ हजार ल्याएर, थोरैले जित्न त जित्यौं, भवितत्यजस्तो ।’



प्रतिक्रिया दिनुहोस्