Logo

मुख्यमन्त्रीले विश्वासको मत लिने बैठकमा कांग्रेस र एमाले सहभागी नहुने, पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गर्दै सोडारी



काठमाडौं,१८ साउन । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिनका लागि डाकिएको बैठक नबस्ने भएको छ । सोडारीले विश्वासको मत लिनका लागि दिउँसो ४ बजेका लागि प्रदेश सभा बैठक डाकिएको छ । तर, नेकपा एमाले र कांग्रेसले बैठक बहिष्कार गर्ने तयारी गरेपछि गणकपुरक संख्या नपुग्ने हुँदा बैठक नबस्ने स्रोतले जनाएको छ ।

एमालेले सरकारलाई दिएको विश्वास फिर्ता लिएपछि सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको हो । ५३ सदस्यीय प्रदेशसभामा विश्वासको निम्ति कम्तीमा २७ जनाको समर्थन चाहिन्छ । तर,मुख्यमन्त्रीको पक्षमा आफ्नो दल नेकपा एकीकृत समाजवादीका चार र माओवादी केन्द्रका १० गरेर कूल १४ जना मात्रै सदस्य छन् ।

विपक्षमा काँग्रेसका १८ र एमालेका ११ गरेर २९ जना प्रदेशसभा सदस्य छन् । उनी एमाले,माओवादी, नागरिक उन्मुक्ति र स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा वैशाख ५ गते सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए । असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका हुन् ।

सुदूरपश्चिम सरकारले असार १ गते सार्वजनिक गरेको बजेट पारित हुन सकेको छैन । साउन १ गतेदेखि प्रदेश सरकार बजेट होलिडेको अवस्थामा रहेको सरकारी खर्च ठप्प छ ।

प्रदेश सभा बैठकमा दुई दल उपस्थित नभएकोखण्डमा पत्रकार सम्मेलन गरेर भएपनि आजै सोडारीले राजीनामा दिनेछन्।



प्रतिक्रिया दिनुहोस्