Logo

कांग्रेसकी कान्छी केन्द्रीय सदस्य रुपा, जसले गर्नेछिन्: ओली सरकारमा १४ प्रतिशत दलित समुदायको एकल प्रतिनिधित्व



काठमाडौं,१८ साउन । केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

राष्ट्रपति पौडेलले अरुणकुमार चौधरी, रुपा विक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा चौधरी, विक र तामाङलाई राज्यमन्त्रीमा नियुक्त गरिएको हो । तामाङ र विक कांग्रेसबाट, चौधरी नागरिक उन्मुक्ति पार्टीबाट राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।

चौधरीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन, विकले वन तथा वातावरण, तामाङले ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । गत असार ३१ गते ओलीको नेतृत्वमा गठित मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

ओली सरकारले पूर्णता पाउँदा दलित समूदायको पनि प्रतिनिधित्व भएको छ । असार ३१ गते २२ सदस्यीय मन्त्रिमण्डल गठन गर्दा कोही पनि दलित समूदायबाट मन्त्री बनेका थिएनन् । एमालेका छविलाल विश्वकर्मा र कांग्रेसका जीवन परियार मन्त्री बन्ने लिष्टमा परेपछि बन्न नसक्दा सरकारको आलोचना भएको थियो ।

मुलुकको १४ प्रतिशत जनसंख्या भएका दलित समुदायलाई मन्त्रिपरिषदमा छुटाइएकोमा आलोचना भएको थियो। विक पाल्पाकी हुन्। उनी कांग्रेसको २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिइन्। उनी समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य छिन्।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित एक सय ३४ सदस्यीय केन्द्रीय समितिको सबैभन्दा कान्छी केन्द्रीय सदस्य हुन्, रुपा । ०४२ सालमा पाल्पामा जन्मिएकी उनी २०५९ सालदेखि उनी कांग्रेसमा सक्रिय रूपमा लागेकी थिइन्। त्‍यसअघि नेविसंघ, महिला संघ लगायतमा पनि सक्रिय थिइन्।

कांग्रेसको १२ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि, नेपाल दलित संघको चौथो अधिवेशनबाट केन्द्रीय सदस्य पनि भएकी थिइन्। उनी पार्टीमा संस्थापन पक्षनिकट मानिन्छिन् ।



प्रतिक्रिया दिनुहोस्