Logo

कुलमानले दोहोर्‍याए फेरि उद्योगको लाइन काट्ने कुरा, त्यसअघिनै बर्खास्त गर्ने प्रधानमन्त्री ओलीको तयारी



काठमाडौं,१८ साउन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ६० दिनभित्रमा बाँकी विद्युतको बक्यौता नतिरे उद्योगको लाइन काट्ने चेतावनी दिएका छन् । शुक्रबार बसेको संसदको लेखा समितिको बैठकमा घिसिङले निश्चित समय दिएर पैसा तिर्ने शर्तमा ६ वटा उद्योगको काटिएको लाइन जोडिएको भन्दै पैसा नतिरे फेरि लाइन काट्ने बताएका हुन् ।

‘६० दिनभित्र महसुल तिरेन भने लाइन कट्नुको विकल्प हुन्नँ । लाइन काट्न अवरोध हुँदा बक्यौता बढेको छ । राजस्व उठाएर लगानी गर्ने हो, कर्मचारीलाई बाँढ्ने होइन,’ बैठकमा उनले भने, ‘देशका सबै निकायमा निर्णय भइसके पछि हामी लेखा समितिमा अहिले छलफल गरिरहेका छौं। यो विवादलाई चाँडै सल्टाउन पर्छ ।’

प्राधिकरणले बिजुली महसुल विवादमा २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटिदिएको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लाइन जोड्न निर्देशन दिएका थिए । पैसा नतिरेसम्म लाइन नजोड्ने प्राधिकरणको निर्णय र तत्काल लाइन जोड्न प्रधानमन्त्री निर्देशनले दुईबीच टसलसमेत परेको थियो । प्रधानमन्त्रीस्तरबाटै निरन्तर दवाव आएपछि प्राधिकरणले शर्तसहित लाइन जोडिदिएको थियो ।

६० दिनअगावै हटाउने सरकारको तयारी

यसैबीच सरकारले प्राधिकरणका एमडी घिसिङसहित सञ्चालक समितिका सदस्यद्धय भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाउने तयारी गरेको छ । आचार्य र पुनलाई यसअघिनै सरकारले स्प्रष्टीकरण सोधिसकेको छ । हटाउने उदेश्यले नै उनीहरुलाई स्प्रष्टीकरण सोधिएको स्रोतको दाबी छ । घिसिङ र पुन नेकपा माअ‍ोवादीनिकट हुन् भने कपिल माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको कोटाबाट सदस्य नियुक्त भएका हुन् ।

पछिल्लो समय आफूले दिएको निर्देशनको एकपछि अर्को गरेर अवज्ञा गरेको भन्दै प्रधानमन्त्री ओली कुलमानसँग् फायर छन् ।

प्रधानमन्त्री ओलीले उर्जामन्त्री दीपक खड्कालाई बोलाएर कुलमानको जिम्मेवारी खोस्नेगरि तयारी थाल्न निर्देशन दिएको उच्च स्रोतको दाबी छ । उद्योगी तथा व्यवसायीहरुले ठूलो मात्रामा विद्युतको बक्यौता तिर्न बाँकी रहेकाले कुलमानले बक्यौता तिर्न बाँकी रहेका उद्योगमा लाईन जोड्न मानेका थिएनन् ।

तर, बोर्डको बैठक बसेर सहमति गरेपछि भने प्राधिकरणले उद्योगमा लाईन जोडिदिएको छ । कुलमानसँग प्रधानमन्त्री ओलीको सुरुवातदेखि नै राम्रो सम्बन्ध छैन् । कुलमानले प्रधानमन्त्रीले दिएको निर्देशन नमानेको र मौखिक निर्देशन दिँदा लिखित निर्देशनको माग गरेपछि प्रधानमन्त्री ओली रिसले चुर भएका छन् ।

कांग्रेस र एमालेको शक्तिशाली सरकार हुँदापनि कुलमानले नटेरेको भनेर अहिले बालुवाटारमा छलफल हुने गरेको छ । यस्तैमा प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँगको सल्लाहपछि कुलमानलाई हटाउनेगरि तयारी थालेका छन् । विश्वस्त स्रोतले केही दिनभित्रै कुलमानको जिम्मेवारी खोसिने दाबी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्