काठमाडौं, १८ साउन । नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालका अध्यक्ष शुबोधराज शेर्पालीले टीआरसी विधेयकमा जुटेको सहमतिले देशमा दीगो शान्तिको सुनिश्चितता गरेको बताएका छन् । उक्त विधेयमा सहमति जुटेसँगै द्वन्द्वको घाउ पुनः नबल्झिनेतर्फ देश अगाडि बढेको उनको भनाइ छ ।
वाईसीएल अध्यक्ष शेर्पालीले शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने विषयलाई नेताहरुले जिम्मेवारीपूर्वक नलिँदा १८ वर्ष वितेको बताए । पछिल्लो समय तीन जना नेताहरुले निकै महत्वका साथ यस विषयमा काम गरेको भन्दै उनले प्रशंसा गरे ।
‘१८ वर्षदेखि नटुङ्गिएको कुरामा सहमति जुटेको छ । यो धेरै राम्रो पक्ष हो । शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुपर्छ । १८ वर्षसम्म नेताहरुको पनि खास्सै ध्यान गएन । तीन जना नेताहरु जिम्मेवारपूर्वक लाग्नुभयो । यसले नेपालमा फेरि द्वन्द्व हुन्छ, द्वन्द्वको घाउ बल्झिन्छ भन्ने कुरालाई पन्छाएको छ, यो सकारात्मक छ । यसले दीगो शान्तिको सुनिश्चितता गरेको छ,’– रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा उनले भने ।