काठमाडौं, १९ साउन । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संवैधानिक परिषद्मा प्रधानन्यायाधीश रहन नहुने बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानन्यायाधीशकै नियुक्ति सिफारिसमा बाहेक अन्य संवैधानिक पदाधिकारी नियुक्तिमा प्रधानन्यायाधीश रहन नहुने बताएका हुन् । प्रधानन्यायाधीशजस्तो पद निश्पक्ष हुनुपर्ने बताए । संवैधानिक परिषद्मा प्रधानन्यायाधीश रहँदा शक्तितर्फ उन्मुख भएको देखिएको उनले बताए ।
‘यसमा कन्फ्लिक्ट भयो भन्ने हो । यसभन्दा पूर्वका अभ्यास पनि के देखियो भने प्रधानन्यायाधीशले संवैधानिक परिषद्मा कसैलाई नियुक्ति गर्ने, जुन नियुक्ति आफैंले गरेको छ, संवैधानिक पदाधिकारीहरुको, त्यो विषयमा आफैंले फेरि मुद्दा पनि छिन्ने, मुद्दा हेर्ने परिस्थिति भएको हुनाले कन्फ्लिक्ट देखियो । प्रधानन्यायाधीश भनेको यो न्यायिक पद हो । न्यायिक पदमा बसेका व्यक्तिहरुले कार्यकारिणीको सोच राख्न हुँदैन । प्रधानन्यायाधीशहरुमा शक्तिको भोक भएजस्तो देखियो । शक्तिको भोक हुन हुँदैन अर्थात म फलानालाई नियुक्त गर्छु भन्ने भोक हुन हुँदैन भन्ने देखियो,’– उनले भने ।
गत जेठ ४? ५ र ६ गते काठमाडौंमा सम्पन्न नेपाल बार एशोसिएशनको सम्मेलनबाट जारी भएको घोषणा पत्र हिजो प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको पनि उनले सुनाए । प्रधानमन्त्री ओलीले बारले बुझाएको सुझावलाई सकारात्मक रुपमा लिएको यस विषयमा फेरि छलफल गर्छु भन्ने वचन दिएको उनले सुनाए ।