Logo

सामाजिक सञ्जालमा ट्रोल बनिरहेकी देवी चन्द्रकला सखीले भनिन्, ‘अझै केही कमीकमजोरी छन् भने औंल्याइदिनुहोला’ (भिडिओसहित)



काठमाडौं, १९ साउन । कथा वाचिका देवी चन्द्रकला सखीले आफ्नो कमीकमजोरी औंल्याइदिएकोप्रति सबैलाई आभार व्यक्त गरेकी छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूले कमीकमजोरी औंल्याइदिएर शर्तक रहने प्रेरणा मिलेको भन्दै आभार व्यक्त गरेकी हुन् । पशुपति क्षेत्रमा जारी कोटीहोम महायज्ञमा श्री राम कथा वाचन गर्ने क्रममा उनले ‘गोरुको प्रिय भोजन मयुँर’ भनेपछि निकै आलोचना भएको थियो । उनले बोलेको उक्त अभिव्यक्तिलाई सामाजिक सञ्जालमा ट्रोल बनाइएको थियो ।

‘अब शर्तक रहने मलाई प्रेरणा मिलेको छ । अहिलेसम्म मलाई यो विषयमा कस्तो हुन्छ भन्ने मलाई थाहा थिएन । अझैं त्यस्तो केही छ भने मेरो कमीकमजोरीहरुलाई औंल्याइदिनुहोला र आशिर्वाद दिनुहोला,’– उनले भनिन् ।

उनले इकोसिस्टम अन्तर्गत फुड चेन बुझाउने क्रममा भाषिक समस्याले गलत भएको स्वीकार गरिन् । बाल्यकालदेखि नै अंग्रेजी माध्यमको विद्यालयमा पढेको हुनाले भाषाको त्रुटी हुन गएको उनले बताईन् । भाषिक रुपमा तलमाथि जे भएपनि कथाले भन्न खोजेको उद्देश्यका बुझ्न जरुरी रहेको उनको भनाइ छ । आफू सोझो ढङ्गले प्रस्तुत भएको र समाजबारे अनविज्ञ हुँदा ट्रोल बन्न पुगेको उनको भनाइ छ ।

साथै, यसअघि आश्रममा मात्रै प्रवचन दिने गरेको बताउँदै उनले पहिलो पटक बाहिर आएर कथा वाचन गरेको बताईन् । आफूले शिव परिवारमा एकअर्कादेखि सबै भिन्न रहेको, तर उनीअरु आपसमा मिलेर बसेको बुझाएर मानवले पनि समाजमा मिलेर बस्नुपर्छ भन्ने सन्देश कथाबाट दिन खोजेको बताईन् ।

‘मैले भन्न खोजेको चाहीँ, शिव परिवार, राम भनेको शान्ति, राम भनेको आनन्द, सीता भनेको धैर्यताको स्वरुप । कैकैले त्यहाँ क्रोध गर्नुभयो, जसको कारण शान्तिरुपी राम वनवास जानुपर्यो । जहाँ ईर्ष्या, लोभ, क्रोध हुन्छ, शान्ति, त्याग, धैर्यता, प्रेम रहँदैन । यसको लागि मैले शिव परिवारलाई बुझाउने प्रयास गरेको थिएँ । शिव परिवारमा भिन्नता छ, तर पनि उहाँहरु एक साथमा मिलेर बस्नुभएको छ । त्यस्तै प्रकारले हामीले पनि हाम्रो राष्ट्रमा मिलेर बस्नुपर्दछ भन्ने सन्देश मैले दिन खोजेको थिएँ,’– उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस्