Logo

जनताले गालीमात्रै सुनेर मुलुक समृद्धिको यात्रामा जाँदैनः रामहरि खतिवडा (भिडिओसहित)



काठमाडौं, २० साउन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कांग्रेस–एमाले गठबन्धनको सरकार बनेपछि जनतामा आशा र भरोसा जाग्न थालेको टिप्पणी गरेका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकार निर्माण हुनेवित्तिकै टीआरसी विधेयक अगाडि बढेको र आर्थिक समृद्धि सुरु भएको उनको भनाइ छ ।

नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिएसँगै वर्तमान सरकारलाई गाली गरिरहेको बताउँदै उनले राजनीति बन्दुकबाट होईन ब्यालेटबाट जान्छ भन्ने स्वीकारेर आएको माओवादीले यसो गर्नु असोभनीय हुने उनको भनाइ छ । उनले कांग्रेसलाई सत्ताभन्दा पनि जनताको समर्थन र माया ठूलो कुरा रहेको पनि बताए ।

‘नेपालको राजनीति बन्दुकबाट होईन, ब्यालेटबाट जान्छ भन्ने सिद्धान्तलाई स्वीकार गरेर आउनुभएका साथीहरुलाई अहिले गाली गरेर अर्थ छैन । सत्ताको मात्रै राजनीति गरेको भए, त्यतिखेर १७ साल पुग्दाखेरी बीपी कोईरालाले एउटामात्रै सानो वक्तव्य दिनुभएको भए आजीवन प्रधानमन्त्री हुनुहुन्थ्यो । कांग्रेसलाई सत्ता होईन, जनताको समर्थन र जनताको माया सबैभन्दा ठूलो कुरा हो,’– उनले भने ।

कांग्रेस–एमाले गठबन्धन सरकारले देशलाई स्थायीत्वको बाटोमा लाने र आर्थिक समृद्धि हासिल गर्नेतर्फ केन्द्रीत भएर साझा न्यूनतम कार्यक्रम ल्याउने पनि उनले प्रष्ट पारे । सबै राजनीतिक दलहरु कुनै न कुनै दलसँग मिलेर सरकारमा गएको बताउँदै उनले एउटाले अर्कोलाई गाली गरेर समस्याको समाधान नहुने बताए । नेता खतिवडाले जनताले गालीमात्रै सुनेर मुलुक समृद्धिको यात्रामा नजाने प्रष्ट पारे ।

‘उहाँ सादगी नेता, सरकारमा बस्दा पनि गन्हाएर निस्कनुभएन, सबैलाई गाली गर्दै पनि निस्कनुभएन । उहाँका आफ्नै अडानहरु छन्, उहाँको जे अडान छ, म उहाँलाई एउटा सिनियर राजनीतिकज्ञको रुपमा सम्मान पनि गर्न चाहन्छु । अन्य नयाँ पार्टीहरु पनि सरकारमा बसे । रास्वपा र कांग्रेस भने अहिलेसम्म सँगै सरकारमा बसेका छैनन् । अरु जो पनि सबैसँग एता, उता सबैसँग बसे । पहिला राप्रपा र हामी पनि सरकारमा बस्यौं । त्यसकारण एउटाले अर्कोलाई गाली गरेर अब समस्या समाधान हुँदैन । त्यो गाली जनताको बीचमा जान्छ । हामी एकले अर्कोलाई नाङ्गो बनाउने काम गर्छौं । जनताले गालीमात्रै सुनेर मुलुक समृद्धिको यात्रामा जाँदैन,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्