Logo

सुदूरपश्चिममा २० महिनामा आज चौथो सरकार गठन हुँदै, ५३ सांसदमध्ये २३ जनाले चाखे मन्त्रीको स्वाद



काठमाडौं,२० साउन । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले आज दाबी पेश गर्ने भएका छन् । प्रदेश प्रमुख नाजिर मियाँले आइतबार ५ बजेसम्मको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका थिए ।

शुक्रबार मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएसँगै मियाँले आज साँझसम्मको समय दिएर संयुक्त सरकार निर्माणका लागि आह्वान गरेका हुन् । कांग्रेस संसदीय दलका नेता शाहले आज दिउँसो १ बजेपछि नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् ।

सुदूरपश्चिममा संसघीयता लागू भएको पहिलो पाँच वर्षमा एउटामात्र सरकार बन्दा दोस्रो कार्यकालको दुई वर्षपनि पुग्दा नपुग्दै चौथो सरकार गठन हुन लागेको छ । प्रदेश सभाको पहिलो कार्यकालमा नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्ट पूरा कार्यकाल मुख्यमन्त्री बनेका थिए । तर, त्यसपछि भने सुदूरमा राजनीतिक अस्थिरतका कारण केही महिनाको अन्तरमा सरकार बन्ने र ढल्नेक्रम जारी रहेको छ ।

०७९ को मंसिरमा सम्पन्न आम निर्वाचनपछि नेकपा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका थिए । ०७९ पुस २७ गते एमाले प्रदेश संसदीय दलका नेता रावल माओवादी, नाउपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । तर, उनको सरकार ३० दिनमै ढल्न पुग्यो । नाउपाले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिएपछि उनी माघ २६ गते पदच्यूच भएका थिए ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेका रावलको सरकार ढलेपछि कांग्रेस संसदीय दलका नेता शाह ठूलो दलको नेताको हंसियतमका करिब १४ महिना मुख्यमन्त्री बनेका थिए । एमाले सरकारबाट बाहिरिएर कांग्रेस केन्द्रको सरकारमा भित्रिएपछि शाहको सत्ता अवधि लम्बिएको थियो । तर, ०८० फागुन २१ मा एमाले केन्द्रको सत्तामा इन र कांग्रेस आउट भएपछि भने शाहको सरकार पनि जोगिन सकेन् ।

शाहको सरकार ०८० चैतमा ढलेपछि नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री बने । करिव १०६ दिन मुख्यमन्त्री बनेका सोडारीले पनि प्रदेशमा काम भन्दा धेरै बदनामीमात्र कमाएर बिदा भएका छन् । एमाले र माओवादीको सत्ता समीकरण भत्एिपछि असार २० गते एमालेले प्रदेश सरकार छाडेपछि सोडारी सरकार अल्पमतमा परेको थियो । उनले ३० दिन अल्पमतको सरकार चलाएर शुक्रबार बिदा भए ।

५३ सांसदमध्ये २३ जनाले चाखे मन्त्रीको स्वाद

५३ सदस्यीय सुदूर प्रदेश सभामा दोस्रो कार्यकालको हालसम्म २३ जनाले मन्त्री तथा राज्यमन्त्रीको जिम्मेवारी लिईसकेका छन् । ३० दिन सरकार चलाएका रावलले एमालेका सन्तोष शर्मा थापा र माओवादीका खगराज भट्टलाई मन्त्री बनाएका थिए । त्यसपछि १४ महिना सत्तामा बसेका शाहले सत्ता जोगान आफ्नो सबै सामथ्र्य लगाएका थिए । ७ सांसद रहेका नाउपाका ६ सांसदलाई मन्त्री बनाएका थिए । शाहको कार्यकालमा कांग्रेसका प्रकाश देउवा, पृथ्वीबहादुर सिंह (दुर्घटना निधन) शिवराज भट्ट (सिंहको निधनपछि) एकीकृत समाजवादीका नरेश शाही, माओवादीका रमेश धामी, झपट साउँद र गितादेवी माल मन्त्री बनेका थिए ।

शाहकै कार्यकालमा नाउपाका रामेश्वर चौधरी, कैलाश चौधरी, इन्दिरा गिरी, घनश्याम चौधरी, लक्ष्मण चौधरी,र खुसीराम चौधरी मन्त्री बनेका थिए । शाहको सरकार ढलेपछि सोडारीको नेतृत्वमा बनेको सरकारमा नाउपाका कैलाशसँगै टीका थापा मन्त्री बनेकी थिईन् । उनीसहित एमालेका सुरेन्द्र पाल, हिरा सार्की, वीरबहादुर थापा मन्त्री बन्दा माओवादीबाट ओमविक्रम भाट, अक्कल रावल र लक्ष्मी विक तथा एकीकृत समाजवादीकी माया पन्त मन्त्री बनेका थिए ।



प्रतिक्रिया दिनुहोस्